दुर्गा प्रसाईंको निर्देशनमा लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिने फुयँल पक्राउ
नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोनकल तथा म्यासेजमार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर साबिक मौवा गाविस-६ घर भई हाल झापा मेचीनगर नगरपालिका-१३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुयाँल रहेका छन् ।
उनले नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोनकल तथा म्यासेजमार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यानसमेत लिने धम्की दिई आतङ्कित पारेका थिए ।
बुधवार बेलुका मेचीनगर– १३ चारआलीबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउपछि प्रारम्भिक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निर्देशनमा गरेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुलेको प्रहरीले जनाएको छ । उनको साथबाट भिभो र रेडमी कम्पनीका १/१ थान मोबाइल बरामद भएका छन् ।
यसैबीच दुर्गा प्रसाईँका ९ जना समर्थक धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामान्य धरौटी बुझाएर उनीहरू रिहा भएको अधिवक्ता स्वागत नेपालले बताए । रिहा हुनेहरूमा ओमप्रकाश लुइँटेल , राजु रानाभाट, देवी सङ्ग्रौला , सुदिप नेपाल , बलबहादुर तामाङ, रमेशकुमार परियार, विश्वास सुवेदी , माधव पौडेल र तुलसीबहादुर विश्वकर्मा रहेका छन् । अभद्र व्यवहार गरेको आरोपमा उनीहरू ११ दिनअघि पक्राउ परेका थिए ।
अभद्र व्यवहारको आरोपमा पक्राउ परेका प्रसाईँका सहयोगी माधव कल्पित(माधवप्रसाद खतिवडा) प्रहरी हिरासतमै छन् । उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।