२०८३ बैशाख १० गते , विहीबार

राप्रपा भद्रपुरको अध्यक्षमा राजकुमार राई निर्विरोध निर्वाचित

sajilo news
झापा
२०८१ मंसीर १६ गते , आईतबार
राप्रपा भद्रपुरको अध्यक्षमा राजकुमार राई निर्विरोध निर्वाचित

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुरको अध्यक्षमा राजकुमार राई निर्विरोध निर्वाचित भएका छन् । भद्रपुरमा शनिबार सम्पन्न राप्रपाको पाँचौँ नगर अधिवेशनले राईको अध्यक्षतामा ३५ सदस्य नयाँ कार्य समिति चयन गरिएको हो । विधानअनुसार पहिलो बैठकले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत पदाधिकारी मनोनीत गर्ने प्रावधान रहेको जनाइएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य राजेन्द्रप्रसाद लिङदेनले देशलाई विकास गर्ने एक मात्र वैकल्पिक पार्टी राप्रपा भएको भन्दै नवनिर्वाचित कार्य समितिलाई इमानदार भएर देश र जनताको पक्षमा प्रभावकारी तरिकाले काम गर्न निर्देशन दिएका छन् ।

काँग्रेस, एमाले र नयाँ भनेका पार्टीहरू भ्रष्ट्राचार लिप्त भएकाले देश सधैँ पछि परेको भन्दै अध्यक्ष  लिङदेनले भने, यी पार्टीहरूले जति वर्ष नेतृत्व गरेपनि कुनै परिवर्तन हुँदैन । कार्यक्रममा राप्रपाका सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरू अञ्जरा आलम, डिवि थापा, प्रदेश सभा सदस्य निमसरी राजवंशी, राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सचिव अभिषेक ढुङ्गाना, कुमार थापा, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन, पूर्वप्रहरी संगठन भद्रपुरका अध्यक्ष अम्बिका पोखरेल लगायत जिल्ला सदस्यहरू, प्रदेश, क्षेत्र लगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टीका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी करिब ८० जनाले राप्रपा प्रवेश गरेका थिए। भद्रपुर नगर संयोजक सिता लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव पोखरेलले गरेका थिए।

सम्बन्धित समाचार