प्रधानमन्त्री ओलीको गृहजिल्ला भ्रमण : सुरक्षा थ्रेटको चुनौती, १३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन
झापा । आज गृहजिल्ला झापा भ्रमण आउन लागेका नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा थ्रेटलाई मध्यनजर गरी व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान साढे १० बजे काठमाडौँबाट ओली यति एयरलाइन्सबाट चन्द्रगढी विमानस्थल भद्रपुर उत्रिने कार्यक्रम तय भएको छ । विमानस्थल ओर्लिने बित्तिकै प्रधानमन्त्री ओली मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ प्रस्थान हुने जनाइएको छ । प्रधानमन्त्रीको सुरक्षा थ्रेटलाई लक्षित गरी विमानस्थलदेखि नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी व्यापक रुपमा परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी १३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री सवार भएर जाने सडकको चोक चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीको कार्यक्रम स्थलहरूको पहिचान गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएका छौँ । प्रधानमन्त्रीको सुरक्षाका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पनि थप जनशक्ति मगाइएको बताए ।
कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत रहेका पहिचानवादी, रवि लामिछानेको रिहाको माग गर्दै आन्दोलनरत रहेका रास्वपाका कार्यकर्ता तथा दुर्गा प्रसाईँको रिहाको माग गर्दै आन्दोलनरत रहेका उनका समर्थकहरूले प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने, पुत्ला दहन गर्न सक्ने लगायतको विरोध प्रदर्शन गर्न सक्ने सुरक्षा थ्रेटका कारण जिल्लामा आज र भोलि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई अवरोधसँगै उनकोविरुद्ध विरोध प्रदर्शन गर्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सुरक्षाकर्मीलाई कडा निर्देशन दिइएको स्रोतको भनाई छ ।
दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मानव सेवा आश्रममा भवनको शिलान्यास कार्यक्रम पश्चात् दिउँसो साढे १ बजे दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानीको उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनी पुर्जा वितरण, दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ । बिर्तामोडमा दिउँसो २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।