झापामा प्रधानमन्त्री ओलीले आज खानेपानी उद्घाटनदेखि भेला सम्बोधन गर्ने
झापा । गृह जिल्लामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि दिनभर व्यस्त हुने भएका छन्। प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजना उद्घाटनदेखि बृहत् पार्टी कार्यकर्ता भेलाको सम्बोधन लगायत कार्यक्रम रहेको एमाले झापाका नेता एवं कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाले जानकारी दिए।
ओलीले आज बिहान १० बजे प्रधानमन्त्री ओलीले दमक–२ स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्। मध्यान्ह १२ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) जग्गाधनिपुर्जा वितरण कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम रहेको छ।
दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नेछन्। दिउँसो ३ बजे उनले बिर्तामोडस्थित सिटी सेन्टरमा एमाले झापा जिल्ला कमिटीको बृहत् पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेकार्यसूची रहेको ओलीको सचिवालयले जनाएको छ।
हिजो बिहान झापा आएका प्रधानमन्त्री ओलीले जिल्ला पुग्नासाथ मानवसेवा आश्रम जिल्ला शाखा झापाको भवन उद्घाटन तथा मानवीय स्मारकको शिलान्यास गरे। त्यसपछि हिजो दिउँसो शहरी विकास मन्त्रालयले दमक नगरपालिका–३ मा आयोजना गरेको दमक बिजनेज टावर उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सो टावरको उद्घाटन गरे। असार ३० मा प्रधानमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक गृह जिल्ला झापा पुगेका हुन्।