२०८१ पौष २९ गते , सोमबार

भारतीय चलचित्र जसले कमाए ५०० करोडमाथि

sajilo news
एजेन्सी
२०८१ मंसीर २७ गते , विहीबार
भारतीय चलचित्र जसले कमाए ५०० करोडमाथि

मुम्बई । भारतीय चलचित्र पुष्पा २ ले रिलिज भएको पाँच दिनमा करिब ६ सय करोडको व्यापार गरेको छ । यो चलचित्रले रिलिज भएको चार दिनमै ५०० करोडको आँकडा पार गरेको हो । भारतमा सबैभन्दा छोटो समयमा ५०० करोडको ब्यापार गर्ने चलचित्रको सुचीमा पनि पुष्पा २ नै पहिलो स्थानमा रहेको छ । पुष्पा २ नै देशी बक्स अफिसमा ५०० करोडको व्यापार गर्ने पहिलो भारतीय चलचित्र भने हैन । यस अघि आधा दर्जन भारतीय चलचित्रले भारतीय बक्स अफिसमा ५०० करोड भन्दा माथिको व्यापार गरिसकेका छन् । अब ती चलचित्रका नयाँ सिक्वेल ६००देखि ८०० करोड भन्दा माथि व्यापार गर्ने लक्ष्य सहित निर्माण हुँदैछन् । चलचित्र स्त्री ३ ले अब ८०० करोड भन्दामाथिको व्यापार भारतमै गर्ने लक्ष्य सहित निर्माणको तयारी भईरहेको छ । भारतीय बक्स अफिसमा ५०० करोड भन्दामाथिको व्यापार गर्ने भारतीय चलचित्रको बारेमा यहाँ चर्चा गरिएको छ ।

स्त्री २
५०० करोड भन्दा माथिको व्यापार गर्र्ने भारतीय चलचित्रको सूचीमा स्त्री २ अझै पनि अग्र स्थानमा रहेको छ । यो चलचित्रले भारतमा नपत्याउँदो किसिमले बक्स अफिसमा सुपर डुपर हिट व्यापार गरेको थियो । यो चलचित्रले भारतमा मात्र ७३९.४० करोड रुपैयाँको व्यापार गरेको थियो । हरर जनरामा निर्माण भएको चलचित्र स्त्री २ गत १० अक्टोबरमा रिलिज भएको थियो । यो चलचित्रमा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अभिषेक बनर्जीलगायतको मुख्य भूमिका रहेको थियो । अहिलेसम्म बनेका हिन्दी भाषाको चलचित्रमध्य स्वदेशी बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने रेकर्ड पनि चलचित्र स्त्री २ले राखेको छ ।

पुष्पा २
अल्लु अर्जुनको शिर्ष भूमिका रहेको भारतीय चलचित्र पुष्पा २ यतिबेला विश्वव्यापी रुपमा प्रदर्शन भईरहेको छ । यो चलचित्रले भारतमा मात्र पाँच दिनमा ५९३.१ करोडको व्यापार गरेको छ । यो भारतमा छोटो समयमा यतिधेरै कमाई गर्ने पहिलो भारतीय चलचित्र पनि पुष्पा २ सावित भएको छ । यो चलचित्रले स्वदेशी बक्स अफिसमै १००० करोड भन्दा बढीको व्यापार गर्ने आशा गरिएको छ । सुकुमारले निर्देशन गरेको यो चलचित्रमा अर्जुन अर्जुनसँगै रश्मीका मण्डनाको मुख्य भूमिका रहेको छ । भारतसँगै चलचित्रले विश्वव्यापी रुपमै राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ ।

बाहुबली २
भारतीय बक्स अफिसमा पहिलो पटक ५०० करोड भन्दा माथिको व्यापार गर्ने भारतीय चलचित्र बाहुबली २ हो । दक्षिण भारतीय सुपरस्टार प्रवासको यो महत्वकांक्षी चलचित्र ब्लक बस्टर सावित भएको थियो । यो चलचित्रले भारतमा मात्र ५१० करोड रुपैयाँको व्यापार गर्दै स्वदेशमा ५०० करोड क्लबको रेकर्ड राख्ने पहिलो भारतीय चलचित्र घोषित भएको थियो । २८ अप्रिल २०१७ मा रिलिज भएको यो चलचित्रको कुल बजेट करिब २५० करोड रुपैयाँ थियो । चलचित्रले भारतसहित विश्वव्यापी रुपमा लगानी भन्दा झण्डै ५ गुणा बढी कमाइ गरेको थियो ।

पठान
स्वदेशी बजारमा ५०० करोड भन्दा माथिको व्यापार गर्ने पहिलो हिन्दी भाषाको चलचित्र पठान हो । शाहरुख खानले करिब ४ वर्षको लामो ब्रेकपछि पठानबाट कमब्याक गरेका छन् । जसमा जोन अब्राहम र शाहरुख खानबीचको ससक्त प्रतिस्पर्धा देखाईएको थियो । शाहरुख, जोन अब्राहम, दीपिका पादुकोणको शिर्ष भूमिका रहेको यो चलचित्रले भारतबाट मात्र ५२४ करोड रुपैयाँको व्यापार गरेको थियो । यो चलचित्रले भारतमा त्यतिबेला सबैभन्दा बढी व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड बनाएको थियो । यो चलचित्र २५ जनवरी २०२३ मा रिलिज भएको थियो ।

जवान चलचित्र
शाहरुख खानको मुख्य भूमिका रहेको अर्को चलचित्र जवानले पनि भारतमा ५०० करोड रुपैयाँ भन्दामाथिको व्यापार गरेको थियो । ७ सेप्टेम्बर २०२३ रिलिज भएको यो चलचित्रको बजेट जम्मा ३७० करोड रुपैयाँ रहेको बताइएको छ । चलचित्र रिलिज हुनेबित्तिकै बक्स अफिसमा सुपर हिट घोषित भयो । यो चलचित्रले भारतबाट ५८२ करोड रुपैयाँको व्यापार गरेको थियो । एक्शन थ्रिलर जनराको यो चलचित्रलाई अटल कुमारले निर्देशन गरेका थिए ।

एनिमल
भारतमा ५०० करोड माथिको व्यापार गर्ने अर्को भारतीय चलचित्र एनिमल हो । यो चलिचत्र १ डिसेम्बर २०२३ मा रिलिज भएको थियो । रणबीर कपुर, बबी देओल, रश्मीका मण्डना, अनिल कपुरलगायतको शिर्ष भूमिका रहेको यो चलचित्रले भारतीय बक्स अफिसमा ५०२ करोड रुपैयाँको व्यापार गरेको थियो । यो चलचित्रको बजेट करिब १०० करोड रुपैयाँ रहेको थियो । तीन घन्टा २० मिनटको यो चलचित्रले लामो हिन्दी चलचित्रको रकेर्ड पनि बनाएको थियो ।

गदर २
सन्नी देओलको सुपरहिट चलचित्र गदरको सिक्वेल गदर एक प्रेम कथाले पनि भारतमा ५०० करोड भन्दामाथिको ब्यापार गरेको थियो । यो चलचित्र विश्वव्यापी रुपमा ११ अगस्ट २०२३ मा बक्स अफिसमा रिलिज भएको थियो । जसले भारतमा मात्र ६९१ करोड रुपैयाँ कमाएको थियो । यो चलचित्रको कुल बजेट ६० करोड थियो । चलचित्रले लगानी भन्दा १२ गुना बढी व्यापार गरेको थियो । चलचित्रमा अमिसा पटेल, सनी देओललगायतको मुख्य भूमिका थियो । यो चलचित्रको कथा सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित थियो ।

सम्बन्धित समाचार