२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोड चिल्ड्रेन अस्पतालद्वारा सेसेहाङ र एस्लिनको सफल उपचार

sajilo news
झापा
२०८१ पौष २० गते , शनिबार
बिर्तामोड चिल्ड्रेन अस्पतालद्वारा सेसेहाङ र एस्लिनको सफल उपचार

बिर्तामोड । पाँचथरको फिदिमका एक बालकको जटिल अवस्थाको बिर्तामोड चिल्ड्रेन अस्पतालले सफल उपचार गरेको छ ।  फिदिम नगरपालिका–१४ का विञ्जेश फागेका चार वर्षीय छोरा सेसेहाङ फागेको अस्पतालले सफल उपचार गरेको भन्दै  परिवारले खुशी व्यक्त गरेका छन् । बालकको बहुअंग फेल भएको अवस्थामा गत पुस १० गते अस्पताल भर्ना गरिएका बालकको नौ दिन पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

छोराको अवस्था अत्यन्त नाजुक थियो– बुबा विञ्जेशले भने–हामीले बालबालिकाको मात्रै छुट्टै उपचार हुने यो अस्पतालमा ल्यायौँ आज बाबु ठिक भएर घर लैजादैछौं । शुरुमा बालकलाई ज्वरो आएको तथा निरन्तर वान्ता भएपछि फिदिममा उपचार सम्भव नभएको भन्दै आफूहरूले बिर्तामोड चिल्ड्रेन अस्पताल ल्याएको बताए ।

बालकको अवस्था जटिल रहेको तर चिकित्सकको निरन्तरको निगरानीमा उपचार सम्भव भएको चिल्ड्रेन हस्पिटलका प्रबन्ध निर्देशक समेत रहेका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आचार्यले बताए । उनले भने– बालकको बहुअंग फेल भएको थियो । बहुअंग भन्नाले शरीरका अधिकांश अङ्गले काम नगर्नु हो । आफूहरूले बालकको अत्यन्त जटिल अवस्थाको सफल उपचार गरेको डा.आचार्यको भनाई छ ।  

बालकको मिर्गौलामा समेत संक्रमण भएको र तीनदिन देखि पिसाब बन्द भएको तथा शरीरको अन्य भागका समेत संक्रमण फैलिएको अवस्थामा उच्च निगरानीका साथ उपचार गर्न आफूहरू सफल भएको जानकारी दिए । उनले मिर्गौलामा क्रिएटिनिन डबल बढेर २.१ पुगेको अवस्थामा आफूहरूले सफल उपचार गरेको जानकारी दिए ।

बालकको कलेजो, मुटु, रगत, मिर्गौला, फोक्सो लगायत शरीरका अधिकांश भागमा संक्रमण फैलिसकेको बताइएको छ । बालकलाई शुरुवमा बान्ता भएको तथा ज्वरो आएको अभिभावकले बताएका छन् । उनीहरूले आफ्नो नानीको सफल उपचार गरेको भन्दै अस्पताल परिवारलाई धन्यवाद दिएका छन् ।

बालरोग विशेषज्ञ डा.आर्चायले कुनै पनि बालबालिकाहरूले निरन्तर वान्ता गरेमा, पखाला चलेमा, आालश्य भएमा, दुई दिनसम्म पनि ज्वरो नघटेमा तत्काल अस्पताल लगेर चिकित्सकको परामर्शमा उपचार गर्नुपर्ने सुझाव दिए । उनले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुनेभएकोले यस्तो अवस्थामा अभिभावकहरूले ध्यान दिनुपर्ने बताए । उनले बालबालिकालाई चेकजाँच नगरी अनावश्यक औषधि नदिन सबैलाई सुझाव दिएका छन् ।

निमोनियाको जटिल अवस्थाको सफल उपचार

हल्दिबारी गाउँपालिका–३ का अजय मेचे आफ्नी ५ वर्षीया छोरी एस्लिन मेचेलाई अस्पतालकै बेडमा बुबा–आमाको नाम लेख्न सिकाइ रहेका थिए । यो दृश्य पुस १९ गते बिहानको हो । बिर्तामोड चिल्ड्रेन अस्पतालमा उपचाररत बालिका निको भएसँगै उनले नानीलाई अध्ययनमा सहयोग गरेका हुन् । गत पुस ७ गते छोरी अन्तिम अवस्थामा पुगेपछि अस्पताल आएका मेचे दम्पती छोरी ठिक भएसँगै प्रफुल्ल मुद्रामा देखिन्थे ।

छोरीलाई ज्वरो आएपछि स्थानीय क्लिनिकबाट औषधि ख्वाए पनि ठिक नभएको तथा अन्य अस्पतालमा समेत ठिक भएपछि बालबालिकाको मात्रै उपचार हुने अस्पतालमा नानीको निगरानी र उपचार राम्रो हुने अपेक्षा अनुसार ल्याएको बताए । आमा लीला मेचेले भनिन्– नानीलाई निमोनियाले जटिल अवस्थामा पु¥याएको रहेछ । धन्न अलिक छिटो अस्पताल ल्याएछौँ ।

छोरीको उपचारमा चिकित्सक तथा नर्सहरूले अथक प्रयास र मेहनत गरेको भन्दै मेचे दम्पतीले धन्यवाद दिए । उनीहरूले भने– ज्वरो त हो क्लिनिकबाट औषधि ल्याएर खुवाए ठिक हुन्छ भन्ने ठान्नु हुन्न रहेछ । हामीले त छोरीलाई अन्तिम अवस्थामा ल्याएका हौँ यहाँका डाक्टरहरूले निरन्तर निगरानीमा उपचार गरेपछि छोरी ठिक भइन् ।

ज्वरो र निमोनियाले ग्रस्त बनाएको अवस्थामा अस्पताल आएको बिरामीलाई आफूहरूले उच्च निगरानीका साथ उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका बालरोग विशेषज्ञ डा. रुपक आर्चायले बताए । निमोनियाले अत्यन्त शिथिल अवस्थामा आएको बिरामीलाई आफूहरूले निरन्तरको प्रयासमा सफल उपचार गरेर परिवारमा खुशीको सञ्चार गर्न सफल भएको डा. आर्चायले उल्लेख गरे । चिसो मौसममा बालबालिकामा स्वास्थ्य समस्या धेरै हुने भएकाले खानपान र हेरचहारमा ध्यान दिन उनले सबै अभिभावकलाई सुझाव समेत दिएका छन् ।

आफूहरूले १२ दिनसम्म अस्पतालमा राखेर छोरीको उपचार गरे पनि अत्यन्त सन्तुष्ट रहेको बताए । उनीहरूले बिर्तामोड चिल्ड्रेन अस्पताल महँगो नरहेको बताए । उनीहरूले भने– बालबालिकाको मात्रै उपचार हुने रहेछ, सबै रिपोट हेरेर मात्र औषधि प्रदान गर्नुका साथै डाक्टर र नर्सहरूले निरन्तर निगरानी गरेर उपचार गर्नुहुँदो रहेछ । बिरामीको अवस्था हेरेर कति रकम लाग्छ भन्ने हुँदो रहेछ अन्य अस्पतालबाट जटिल अवस्थामा नानी ल्याएपछि सोही अनुसारको निगरानी तथा औषधि प्रयोग गर्नुपर्ने भएकाले महँगो लागे पनि वास्तविकता त्यस्तो नभएको मेचे दम्पतीले बताए ।

आफूहरूको पहिलो प्राथमिकता भनेको नवजात शिशु तथा बालबालिका सफल उपचार नै रहेको भन्दै डा. आर्चायले भने– 'जटिल अवस्थाका बालबालिका उपचार संवेदनशील भएकाले त्यही अनुसारको औषधि प्रयोग गर्नुपर्ने भएकाले कसैलाई महँगो लाग्न सक्छ तर वास्तविकता बुझनेहरुले त्यसो भन्दैनन् ।'

डा.आर्चायले आफूहरूले धेरै बालबालिका उपचारमा विशेष छुट समेत दिने गरेको जानकारी दिए । पछिल्लो समय बालबालिकाको लागि छुट्टै उपचार गर्दै आएको चिल्ड्रेन हस्पिटलले धेरैको विश्वास जित्दै गएको छ । बालबालिका सम्बन्धी सबै रोगको उपचार गर्ने उद्देश्यले सञ्चालनमा आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले रोगको पहिचान गरेर मात्रै उपचार सुरु गर्ने गरेको  अस्पतालकी सिइओ डा.सुजता मैनाली आर्चायले जानकारी दिइन् ।

सम्बन्धित समाचार