२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडमा २१६ जना अपाङ्गता भएका व्यक्तिलाई नयाँ कार्ड वितरण

sajilo news
झापा
२०८१ पौष २० गते , शनिबार
बिर्तामोडमा २१६ जना अपाङ्गता भएका व्यक्तिलाई नयाँ कार्ड वितरण

बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरूको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरिएको हो । रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरिएको हो । थप ४ जना प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

अपाङ्गता परिचयपत्र गम्भीरताका आधारमा ४ भागमा वर्गीकृत हुने गरेको छ । क वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ख वर्गमा पर्नेको लागि निलो, ग वर्गमा पर्नेको लागि पहेँलो र घ वर्गमा पर्नेको लागि सेतो रङ्गमा कार्ड वितरण हुने गर्दछ । करुणा फाउण्डेसनसंगको सहकार्यमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको अपाङ्ग‌ता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गतको यस शिविरमा दशै वटा वडामा गरी ७ सय ७२ जनाले सेवा लिएका छन् ।

शिविरमा अपाङ्‌ग‌ता भएका व्यक्तिहरूको पहिचान तथा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूको स्वास्थ्य उपचार मात्र नभई शारीरिक जटिलता र आवश्यकताको विषयमा समेत लगत सङ्कलन गरिएको करुणा फाउन्डेसनले जनाएको छ ।

सम्बन्धित समाचार