२०८१ माघ २५ गते , शुक्रबार

माओवादीले एकमहिने तराई/मधेश जागरण अभियान चलाउने

sajilo news
काठमाडौं
२०८१ पौष २१ गते , आईतबार
माओवादीले एकमहिने तराई/मधेश जागरण अभियान चलाउने

नेकपा माओवादी केन्द्रले फागुन १ गतेदेखि एकमहिने तराई/मधेश जागरण अभियान संचालन गर्ने भएको छ। आइतवार बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकमहिने तराई/मधेश जागरण अभियान चलाउने जानकारी गराएका हुन्। 

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए। 

प्रचण्डले उपत्यका विशेष अभियान चलाउने धारणा राखेको पनि उनले बताए। केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चा सक्रिय बनाउने, वैज्ञानिक समाजवाद मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि उनले बताए। 

‘पार्टी एकता र वृहत वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चा सक्रिय गराउने। त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने‚’ उनले भने, ‘नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ। महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ। महिलाको अधिकार पनि ३३ बाट बढाएर ५० पुर्‍याउन पहल गर्ने।’

बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको दावी गरेका थिए। खबरदारीसभा देशव्यापी रुपमा प्रभावकारी रुपमा चलेको जानकारी प्रदेश अध्यक्षहरुले बैठकमा दिए।

सम्बन्धित समाचार