२०८१ माघ २५ गते , शुक्रबार

ओलीसँग सम्बन्धविच्छेद गर्न खोज्दै देउवा

sajilo news
पत्रपत्रिका
२०८१ पौष २६ गते , शुक्रबार
ओलीसँग सम्बन्धविच्छेद गर्न खोज्दै देउवा

सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच असन्तुष्टि बढ्दै गइरहेको छ । दुई दलबीच दूरी बढेसँगै सरकार हेरफेरको चर्चासमेत सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पछिल्लो समय असन्तुष्टि बढेको हो । सरकार गठनअघि दुई दलबीच भएको सातबुँदे सहमति, राजनीतिक दल विभाजनका लागि ल्याउन खोजिएको अध्यादेश, कुलमान घिसिङलाई हटाउन भइरहेको खेल र अन्तर्राष्ट्रिय सम्बन्ध गिजोल्न खोजिएको विषयमा ओली र देउवाको तालमेल मिलेको छैन ।

प्रधानमन्त्री ओली ‘संविधान संशोधनबाट ब्याक’ भएपछि सत्तारूढ कांग्रेसले त्यसमा आपत्ति जनाएको छ । ओलीले तत्काल संविधान संशोधन नहुने भन्दै २०८७ मा मात्रै संविधान संशोधन हुने बताएपछि कांग्रेस नेताहरू असन्तुष्टि पोखिरहेका छन् ।

गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने एजेन्डासमेत छ । तर, दुई दलबीच भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । सहमति पालना गर्नुको साटो आफूखुसी अभिव्यक्ति दिएपछि कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् ।

‘अहिले जो २०८७ मा भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । मैले असजिलो नमानी यो सातबुँदेको अपमान हो भन्छु । २०८७ मा पुग्ला, ९० मा पुग्ला तर प्रारम्भ गर्नुप¥यो । त्यसका निम्ति सबै पक्षहरू, संसद्मा भएका दलहरू मात्रै होइन, सांसदबाहिर रहेका शक्तिलाई पनि कसरी जुटाउन सक्छौं हामी ?’ उनले भने ।

प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई लिएर केसी मात्रै नभई महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरूले आपत्ति जनाएका छन् । यस विषयमा कांग्रेस सभापति देउवासमेत असन्तुष्ट रहेको स्रोतको भनाइ रहेको छ ।

यस्तै, अर्को विषय राजनीतिक दलसम्बन्धीको अध्यादेशका बारेमा समेत सहमति जुटेको छैन । प्रधानमन्त्री ओलीले मुख्यतः एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) विभाजन गराउने उद्देश्यले अध्यादेश ल्याउन खोजेका छन् । तर, कांग्रेस सभापति देउवा त्यसमा सहमत छैनन् । नेपालसँगको नजिकको सम्बन्ध र विगतमा आफूलाई प्रधानमन्त्री बनाउन गरिएको सहयोगका कारण देउवा नेपाल नेतृत्वको दल विभाजनका लागि अध्यादेश ल्याउने’boutमा सहमत नभएका हुन् ।

यसैगरी, अर्को विषय कुलमान घिसिङलाई हटाउने भइरहेको चलखेलप्रति देउवा असन्तुष्ट छन् । देउवाले कुलमानलाई हटाउने बाटामा जाँदा जनतामा चरम आक्रोश पैदा हुने भन्दै सचेत गराएका छन् । तर पनि ओली कुलमानलाई जसरी पनि हटाउन लागेका छन् । ऊर्जा मन्त्रालयको नेतृत्व कांग्रेसबाट दीपक खड्काले सम्हालेका छन् । तर, मन्त्री खड्का र कुलमानबीच ठूलो टसल देखिएको छ । मन्त्री खड्का जसरी पनि कुलमानलाई बर्खास्त गर्ने बाटामा छन् । प्रधानमन्त्री ओलीले कुलमान हटाउने विषयमा देउवाको साथ खोजेका छन् । तर, देउवा अहिलेसम्म तयार नभएको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार