२०८३ बैशाख ५ गते , शनिबार

भद्रपुरका ३ हजार ८५३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको खोप लगाइँदै

sajilo news
झापा
२०८१ माघ १२ गते , शनिबार
भद्रपुरका ३ हजार ८५३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको खोप लगाइँदै

भद्रपुर । भद्रपुरका ३ हजार ८५३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाउने अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य कार्यालय झापाको समन्वयमा भद्रपुर स्वास्थ्य शाखाले यही माघ २२ गतेबाट २७ गते सम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।

भद्रपुर नगरपालिकामा सम्पन्न खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो विषयमा जानकारी गराइएको हो । लक्षित समूह विद्यालय अन्तरगत कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने भएमा १० देखि १४ वर्ष सम्मका  किशोरीहरूलाई खोप लगाइने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रवीण पाठकले जानकारी दिए । माघ २२ गते विश्व क्यान्सर दिवसको अवसरमा झापाका सबै पालिकासहित देशभर एकै पटक किशोरीहरूलाई खोप लगाउने अभियान सञ्चालन हुन लागेको उनले बताए । भद्रपुरका १० वटा वडामा विद्यालयमा अध्ययनरत ३ हजार २५७ र विद्यालय बाहिर रहेका ५९६ गरी ३ हजार ८५३ किशोरीलाई खोप लगाइनेछ ।

जसका लागि ५१ खोप केन्द्रमा ५१ जना स्वास्थ्यकर्मी, एक सय दुई जना स्वयम सेवक र २० जना सुपरिवेक्षक खटाइने उनले बताए । एक डोज खोपले वयस्क उमेरमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न सकिने उनको भनाई छ । पाठेघरको मुखको क्यान्सर महिलाहरूलाई लाग्ने क्यान्सरमा विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा पर्ने तथ्याङ्क रहेको छ । पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने क्यान्सर पहिलो नम्बरमा छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन्।

खोप समन्वय समितिका संयोजक तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत अधिकृत सुनिल निरौला, वडा अध्यक्षहरू अभिषेक ढुङ्गाना, राम दाहाल,  कार्यपालिका सदस्यहरू लगायत कर्मचारीहरूको सहभागितामा रहेको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र श्रेष्ठले जानकारी दिए । 

सम्बन्धित समाचार