विद्यार्थीको गालामा पन्यु तताएर डाम्ने शिक्षिका पक्राउ
तनहुँ । पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ। भिमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुषमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्युले गालामा डामेको थापाले बताए। तातो पन्युले डामिएका विद्यार्थीको गालामा पन्युको छाप बसेको छ। कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेका र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्युले डामेको पाइएपछि नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए।
अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ। यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन्। नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तिमा प्रभात एकेडेमीमा अध्ययनरत प्रमिश परियारलगायतका विद्यार्थीलाई शिक्षकद्वारा अनुशासन कायम गर्ने नाममा पन्यु तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख छ।
यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक तथा समाजलाई गहिरो चिन्तामा पुर्याएको जनाइएको छ। विद्यार्थीलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइनु पर्छ तर बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानवीय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षिकामाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प