२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुरमा एकीकृत शत्रु जीव व्यवस्थापन कक्षाको स्थापना

sajilo news
झापा
२०८१ फाल्गुन २ गते , शुक्रबार
भद्रपुरमा एकीकृत शत्रु जीव व्यवस्थापन कक्षाको स्थापना

भद्रपुर नगरपालिकाले तीन स्थानमा एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) कक्षाको स्थापना गरेको छ। भद्रपुर-४ स्थित तारा नगर कृषक समूहको जमिनमा नगरप्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले करेलाको बिरुवा रोपेर कक्षा सुरुवात गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आधुनिक कृषि प्रविधि, जैविक खेती, तथा एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम)को महत्त्व बारेमा जानकारी गराएका थिए ।

यस प्रकारका कार्यक्रमहरूले किसानलाई आत्मनिर्भर बनाउने मात्र होइन, स्वस्थ र विषादी रहित उत्पादनलाई प्रवर्द्धन गर्दै सम्पूर्ण नगरलाई कृषिमा आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्‍याउने नगर प्रमुख पोखरेलले बताए । त्यस्तै नगर उपप्रमुख कार्कीले स्थानीय उत्पादन वृद्धि गर्दै जैविक उत्पादनलाई प्राथमिकता दिने नीतिअनुसार नगरपालिकाले कृषकहरूलाई आवश्यक प्रविधि तथा तालिम उपलब्ध गराउँदै आइरहेको बताइन् ।

तारा नगर कृषक समूहमा सञ्चालन भइरहेको १७ हप्ते आइपिएम तालिममार्फत किसानहरूलाई रासायनिक विषादीको न्यूनतम प्रयोग, जैविक उत्पादनको प्रवर्द्धन, तथा शत्रु जीव व्यवस्थापनका व्यावहारिक उपायहरू सिकाइँदैछ । सो तालिम आइपिएम समाज झापाको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ।

नगरपालिकाले समग्र नगरलाई जैविक तथा दिगो कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले अन्य दुई स्थानमा श्री किचकवध कृषि सहकारी भद्रपुर-१ र कृषक पाठशाला भद्रपुर-२ मा  पनि आइपिएम कक्षा सञ्चालन गरिरहेको छ। नगरपालिकाले आगामी दिनहरूमा किसानहरूसँग समन्वय गरी थप नवीनतम प्रविधिहरू परिचय गराउने योजना बनाएको छ । यस कार्यक्रमले स्थानीय कृषकहरूलाई नवप्रवर्तनशील खेती प्रविधि अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।नगरपालिकाले भविष्यमा अन्य बालीनालीमा समेत आइपिएम प्रविधिको प्रयोग विस्तार गर्ने योजना बनाएको कृषि शाखाका सुमन विमलीले बताए । 

सम्बन्धित समाचार