बिर्तामोडका पशुपालक कृषकलाई चापकटर वितरण
बिर्तामोड । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरूलाई चापकटर वितरण गरेको छ ।आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले कृषिलाई प्रविधिमैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामग्री वितरण गर्दै आएको बताइन् । उनले कृषकहरूको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सीपमूलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेका सामग्रीलाई उपलब्धिमूलक बनाउन सबैलाई आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै कृषक लयप्रसाद रिजालले नगरपालिकाले गरेको सहयोगको प्रशंसा गरेका थिए ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर माग निवेदनका आधारमा चापकटर वितरण गरेको हो । ६० वटा निवेदन प्राप्त भएकोमा अनुगमन गरी यस वर्ष २५ जनालाई वितरण गरेको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए ।
एउटा चापकटरको मूल्य २९ हजार ५ सय रहेकोमा कृषकले १४ हजार ७५० रुपैयाँ लगानी गरेका छन् । नगरपालिकाले ३ सय वटाभन्दा बढी चापकटर यसअघि नै वितरण गरिसकेको छ ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखामार्फत चापकटर, चिलिङ भ्याट, दाना पिसाउने मेशिन, मिल्क क्यान, ब्रुडिङ मेशिन (चल्ला उत्पादन गर्ने मेशिन), काउ म्याटलगायतका सामग्री हरेक वर्ष वितरण गर्दै आएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन् ।
कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, वडाध्यक्षहरू अग्निप्रसाद पाण्डे, किशोर पौडेल, अविरल कृष्ण खरेल, दुर्योधन गुरुङ, कार्यपालिका सदस्य सिता ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।