विराटनगरको बाल सुधारगृहमा झडप, ३ जना घाइते
विराटनगरको बाल सुधारगृहभित्र गएराति झडप हुँदा ३ जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा राति पौने ८ बजेतिर झडप भएको प्रहरीले जनाएको छ ।
सुधारगृहका प्रमुख मिलन चौहानले झडपमा परेर घाइते भएकाको अवस्था सामान्य रहेको र उपचार भइरहेको जानकारी दिए । घाइते ३ जना नै २२ वर्षका छन् । २ जना पाँचथर र १ जना सुनसरीका हुन् । चौहानका अनुसार घाइते हुनेमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएकाहरु छन् ।
कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, सुधारगृहमा राखिएका बालक अहिले युवा भइसकेका छन् । गृह प्रमुख चौहानले सुधारगृहमा दुई पक्षबीच झडप भए पनि कारण खुलिनसकेको बताए ।उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको हो । तर, शुक्रबार २ सय ४९ जनालाई राखिएको छ ।
सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरुको संख्या धेरै छ । १८ वर्षमाथिका १ सय २४ जना छन् । उनीहरु बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प