सलमानको सिकन्दरले रिलिज अघि नै कमायो १६५ करोड
मुम्बई । आजकल बलिउड अभिनेता सलमान खान नयाँ चलचित्र सिकन्दरका कारण चर्चामा छन् । चलचित्रको टिजर सार्वजनिक भएसँगै यसको चर्चा बढेको हो । टिजर रिलिजपछि सिकन्दरको ओटिटी र डिजिटल राईट्स पनि बिक्री भएको छ ।
चलचित्र सिकन्दरले रिलिज हुनुभन्दा अगाडि नै १६५ करोड रुपैयाँ अग्रिम कमाई गरेको छ । निर्माताहरूले यो पैसा चलचित्र घरमा रिलिज नभएर अन्य प्लेटफर्मबाट कमाएका हुन् । सिकन्दरलाई एआर मुरुगादोसले निर्देशन गरेका हुन्।
पिंक भिल्लाले रिपोर्टका अनुसार सिकन्दरका निर्माताहरूले ओटीटी, स्याटलाइट र संगीत अधिकार १६५ करोड रुपैयाँमा बिक्री सम्झौता गरेका छन् । यसरी यि तीन वटा राइट्सबाट सिकन्दरका निर्माताले १६५ करोड रुपैयाँ कमाएका हुन् ।
यो चलचित्रलाई ओटीटी प्लेटफर्म नेट फ्लिक्सले किनेको छ । यसका लागि ८५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यदि यो चलचित्रले बक्स अफिसमा ३०० करोडभन्दा बढी कमाउँछ भने ओटीटी अधिकारको मूल्य अझ बढ्नेछ । यसपछि, नेटफ्लिक्सले सिकन्दरका निर्माताहरूलाई १०० करोड रुपैयाँ तिर्ने गरी सम्झौता गरेका छ ।
अहिलेको अवस्थालाई हेर्ने हो भने, सिकन्दरका निर्माता साजिद नाडियाडवालाले रिलिज हुनुभन्दा अगाडि नै ८० प्रतिशत रकम कमाइसकेका छन् । यसबाहेक, स्याटलाइट अधिकारबाट ५० करोड रुपैयाँ प्राप्त भएको छ । यसलाई जी स्टुडियोले किनेको छ । साथै, जी म्युजिकले संगीत अधिकारको लागि ३० करोड रुपैयाँ तिरेको छ । यसरी यी तीन राईट्सको कुल कमाई १६५ करोड रुपैयाँ छ ।
सिकन्दरको बजेटको कुरा गर्दा यो चलचित्र कुल १८० करोड भारतीय रुपैयाँमा निर्माण भएको निर्माताले बताएका छन् । निर्माताहरूले यो चलचित्रको मार्केटिङ र प्रचारमा २० करोड रुपैयाँ अतिरिक्त खर्च गरेका छन् ।
यसरी चलचित्र सिकन्दरको कुल बजेट २०० करोड रुपैयाँ पुगेको छ । अब यो चलचित्रले बक्स अफिसमा कति पैसा कमाउँछ भनेर हेर्न बाँकी छ । तर आफू अहिलेको अवस्थामा चलचित्रको लगानीबाट करिब सुरक्षित भएको निर्माता साजिदले बताएका छन् ।
सलमान खानले लामो समयपछि चलचित्र घरमा आफ्नो यो चलचित्र ल्याउँदै छन् । यस्तो अवस्थामा, सिकन्दरले बक्स अफिसमा कम्तिमा २०० करोड रुपैयाँ कमाउने अपेक्षा गरिएको छ ।