बिर्तामोडमा तरबारसहित दुई समूहबीच 'ग्याङफाइट', तीन जना घाइते
झापाको बिर्तामोडमा तरबारसहित युवाहरुबीच ग्याङफाइट भएको छ । ग्याङफाइटमा युवा संघका केन्द्रीय सदस्यसहित तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका-४ बस्ने वर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङदम्बे, एमालेका बिर्तामोड नगर कमिटी सदस्य तथा वडा नम्बर ९ बस्ने वर्ष अन्दाजी ३५ का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नम्बर ४ बस्ने वर्ष अन्दाजी ३० का अजय खवास रहेका छन् । घाइतेहरूको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूलाई बिर्तामोड नगरपालिका-४ बस्ने वर्ष ४५ का खगेन्द्र खालिङ राईलगायतको ४/५ जना युवा आएर तरबारजस्तो देखिने धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ । खालिङ पनि एमालेकै कार्यकर्ता हुन् । यसअघि उनी लिम्बुवान संगठनमा रहेका थिए ।
गएराति १२:४५ बजे बिर्तामोड नगरपालिका- ४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाईपिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो । आपसी लेनदेनका विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने आशङ्का गरिएको छ । घटना संलग्न मानिसहरू फरार रहेकाले खोजी भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प