तरकारीको झोलाभित्र ब्राउन सुगर ल्याउने दुई युवक भद्रपुरमा पक्राउ

भद्रपुर । तरकारीको झोलाभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई युवक मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम जिल्ला माई नगरपालिका-५ का अन्दाजी ३३ वर्षीय भूपेन्द्र लावती र बिर्तामोड नगरपालिका-५ का अन्दाजी २३ वर्षीय राजीव चौधरी रहेका छन् ।
सोमबार साँझ पौने ७ बजे मे ६ प ९९७७ नम्बरको मोटरसाइकल सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा रोकेर चेकजाँच गरेका थिए ।
मोटरसाइकलको पछाडि सवार चौधरीले बोकेको तरकारीको झोलाभित्र प्लास्टिकले पोकापारि लुकाइछिपाई ल्याएको ९ ग्राम १९ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने जनाइएको छ ।