२०८२ बैशाख ८ गते , सोमबार

नाबालिकालाई बलात्कार प्रकरण : बिर्तामोडका पूर्वनगर प्रमुख शिवाकोटीलाई अदालत पेश, बसाई हस्पिटलमै

sajilo news
झापा
२०८१ चैत्र ११ गते , सोमबार
नाबालिकालाई बलात्कार प्रकरण : बिर्तामोडका पूर्वनगर प्रमुख शिवाकोटीलाई अदालत पेश, बसाई हस्पिटलमै

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कारागार चलानको आदेशपछि पनि करिब तीन महिनादेखि बीएण्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिएको छ ।

बकपत्रका लागि उनलाई बीएण्डसी अस्पतालबाट झापा जिल्ला अदालत लगिएको हो । सक्कल मिशिल नभएका कारण आज बकपत्र हुन सकेन । सक्कली मिशिल उच्च अदालत इलाममा लगिएकाले आज बकपत्र हुन नसकेको हो । सक्कली मिशिल झिकाएर भोलिदेखि बकपत्र शुरु गरिने अदालतका श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए । झापा जिल्ला अदालतले थुनामा राख्न दिएको आदेशविरुद्ध शिवाकोटीले उच्च अदालत इलाममा पुनरावेदन दिएका थिए । उच्च अदालतले चैत ७ गते सक्कली मिशिल पेश गर्न आदेश दिएपछि चैत ८ गते लगेर बुझाइएको थियो

गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । आदेशमा अस्वस्थ्य रहेका शिवाकोटीको उपचारको व्यवस्था मिलाउनसमेत भनिएको थियो । त्यही आदेशबमोजिम झापा कारागारले उनलाई बीएण्डसी अस्पतालमा रहेर उपचार गर्न दिएको हो ।

उनको स्वास्थ्यमा धेरै सुधार आएकाले केही दिनअघि झापा कारागारका प्रमुख रेवन्त भट्टराईले कारागार पठाउने बताएका थिए । तर अझैसम्म उनलाई बीएण्डसी अस्पतालमै राखिएको छ ।

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख शिवाकोटी गत मंसिर २४ गते पक्राउ परेका थिए ।

सम्बन्धित समाचार