२०८२ बैशाख ८ गते , सोमबार

नगरको योजनासहितको बजेट मागका लागि भद्रपुर नगरपालिकाको टोली काठमाडौंमा

sajilo news
झापा
२०८१ चैत्र १३ गते , बुधबार
नगरको योजनासहितको बजेट मागका लागि भद्रपुर नगरपालिकाको टोली काठमाडौंमा

भद्रपुर । भद्रपुर नगरपालिकाको टोली नगरको योजनासहितको माग लिएर राजधानी काठमाडौँ पुगेका छन् । नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा राजधानी पुगेको टोलीले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति (जीपी) भवन र अरनिको माध्यमिक विद्यालयको अधुरो भवन निर्माण कार्य यथाशीघ्र सुचारु गर्नुपर्ने मागसहित अन्य योजनाहरूको बजेट मागका लागि विभिन्न मन्त्रालय पुगेर सरकारको ध्यानाकर्षण गराएको छ । 

टोलीले कीचकबध, कमलधाप, चन्दगढ जस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण र संवर्द्धन, भद्रपुर साइन्स सिटी र  आदिवासी राजवंशी भाषिक सङ्ग्रहालयको लागि बजेट विनियोजनको मागसहितको ध्यानाकर्षण पत्र बुझाएको नगरप्रमुख पोखरेल जानकारी दिए । उनका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर आवश्यक बजेटको माग गरेको बताए ।

टोलीले भद्रपुरका केही वडामा स्थगित भएको सर्पट नापी कार्यको प्रारम्भ, भद्रपुरको १, २ र ३ वडा (पृथ्वीनगर)क्षेत्रको घर नक्सा पास समस्या, प्रादेशिक अस्पताल भद्रपुरको माथिल्लो तला थप जस्ता विषयलाई उठान गर्दै बजेट व्यवस्थापन गर्न अनुरोध गरेको जनाइएको छ । 

सो टोलीले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र सदस्य गीता अधिकारीलाई भेटेर माग पत्र पेस गरेको नगर प्रमुखका निजी सचिव राजा मण्डलले जानकारी दिए । सो टोलीले प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्री र पार्टीका शीर्ष नेताहरूलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । 

सम्बन्धित समाचार