राप्रपा झापाले बुझायो ज्ञापनपत्र
शक्ति प्रदर्शनसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने केन्द्रीय कार्यक्रम अनुसार राप्रपा झापाको आयोजनामा ज्ञापनपत्र बुझाइएको हो ।
कोशी प्रदेश अध्यक्ष राम थापाको नेतृत्वमा केन्द्रीय सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरू राजकुमार पोखरेल, अन्जार आलम, झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको उपस्थितिमा विद्युत् प्राधिकरण पूर्व खाली मैदानमा भेला भई विभिन्न नारा लगाउँदै र्यालीसहित चन्द्रगढी बजार परिक्रमा गरेको थियो ।
सहभागीहरूले ‘गणतन्त्र मुर्दावाद,भ्रष्ट सरकार मुर्दावाद ,तीनकुने घटनाको निष्पक्ष छानबिन आयोग गठन गर , राजतन्त्र जिन्दाबाद , हिन्दु राष्ट्र कायम गर,आस्थाका बन्दी रिहा गर , सङ्घीयता खारेज गर , सरकारको घुसपैठ बन्द गर’ जस्ता नारा लगाएका थिए ।
प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय सदस्यहरू राजकुमार पोखरेल, अञ्जार आलम, जिल्ला अध्यक्ष केशवप्रसाद ओझालगायतले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए भने अन्य सहभागीहरूले गेट बाहिर नाराबाजी गरेका थिए ।ज्ञापनपत्र बुझाएपश्चात् राप्रपा कोशी प्रदेश राम थापाले उपस्थित कार्यकर्तालाई धन्यवाद दिएका थिए भने जिल्ला अध्यक्ष ओझाले ज्ञापनपत्रमा उल्लेख भएको विषयका बारेमा जानकारी गराएका थिए ।