बीएण्डसी अस्पतालले शिशुको उपचार सुरु गर्नुअघि नै एक लाख जम्मा गर्न भनेपछि...
झापा । बिर्तामोडस्थित बीएण्डसी अस्पतालले शिशु (छोरी)को उपचार सुरु गर्न अघि नै रकम जम्मा गर्न भनेपछि उनका परिवार अहिले तनावमा छन् ।
बुद्धशान्ति गाउँपालिका–३ की सम्झना जवेगुकी दुई महिनाकी छोरी सुयना जवेगुलाई मस्तिष्क र फोक्सोमा समस्या देखिएपछि वैशाख ४ गते बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । तर, आर्थिक अभावका कारण उनको उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ।
बालिकाको आमा सम्झना जवेगुले अस्पताल प्रशासनले उपचार अघि तुरुन्तै एक लाख रुपैयाँ बुझाउनुपर्ने माग गर्दै, रकम नबुझाएमा डिस्चार्ज गर्न चेतावनी दिएको बताइन् । “छोरी टुलुटुलु हेरेर छटपटाइरहेकी छ, तर उपचार गराउन हामीसँग पैसा छैन,” उनले भनिन्। अलिअलि पैसा जुटाएर छोरीलाई अस्पताल ल्याएर भर्ना गरी सुरुवाती उपचार गराइएको र त्यो रकम सकिएपछि उपचारका लागि थप रकम चाहिने भयो । एनआइसीयुमा राखेर उपचार गराउनु पर्ने भएकोले अस्पतालले अग्रिम पैसा बुझाउन भन्दा छोरीको ज्यान नै जोखिममा परेको उनले बताइन् ।
जवेगु परिवार अहिले आर्थिक अभावका कारण तनावमा छन् र छोरीको जीवन रक्षाका लागि सहयोगको अपील गरेका छन्। सहयोग गर्न इच्छुक व्यक्तिहरूले सिधै परिवारसँग सम्पर्क गरेर वा अस्पतालमा पुगेर सहयोग गर्न सक्नेछन्। सहयोगका लागि तल दिइएको परिवारको खातामा सहयोग गर्न सकिने छ।
