२०८२ माघ ५ गते , सोमबार

निजी विद्यालयमा पाठ्यपुस्तकदेखि पोशाक खरिदसम्म कमिसनको खेल, नगरपालिकाले भन्यो- बिर्तामोडको कैलाशपतिबाटै किन्नुपर्दैन

sajilo news
झापा
२०८२ बैशाख ११ गते , विहीबार
निजी विद्यालयमा पाठ्यपुस्तकदेखि पोशाक खरिदसम्म कमिसनको खेल, नगरपालिकाले भन्यो- बिर्तामोडको कैलाशपतिबाटै किन्नुपर्दैन

बिर्तामोड क्षेत्रका निजी विद्यालयका सञ्चालकहरूले कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक किन्नुपर्ने बाध्यता बनाएपछि त्यसविरुद्ध आजित भएर अभिभावकहरूले नगरपालिकामा उजुरी दिएका छन् ।

बिर्तामोड नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका अधिकांश विद्यालयहरूले एउटै कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरेका कारणले विद्यार्थी/अभिभावकहरूलाई भीडभाड भई घण्टौँसम्म लाइनमा बस्नुपर्ने, पालो नआएर पटक पटक धाउनुपर्ने जस्ता समस्या भोग्नु परिरहेको छ । त्यस्ता समस्याबाट आजित भएर अभिभावकहरूले नगरपालिका कार्यालयमा लिखित उजुरी दिएका हुन् ।

नगरपालिकाले एउटै ठाउँबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था नगरी सबै विद्यालयहरूले विद्यार्थीहरूलाई ड्रेस कोड उपलब्ध गराइ अभिभावक स्वयम्ले नै पोशाक व्यवस्थापन गराउने व्यवस्था गर्न सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी तिलचन भण्डारीले सूचना जारी गरी त्यस किसिमको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

सबै विद्यालयले कैलाशपतिमै मात्र विद्यालय पोशाक किन्न पठाएपछि त्यहाँ अत्यधिक भीड हुने गरेको छ । भीडभाडका क्रममा विवाद पनि भएको थियो । अभिभावकहरूले झन्झट बेहोर्नु पर्दा आक्रोश पोखेको र पसल सञ्चालकले नराम्रो व्यवहार गरेको बताइएको छ ।

बिर्तामोडमा ५६ वटा निजी विद्यालय रहेका छन् । अधिकांशले त्यही कैलाशपतिमा विद्यालय पोशाक किन्न लगाउँछन् । पाठ्यपुस्तकदेखि विद्यालय पोशाक खरिदमा कमिसनको खेल हुँदै आएको छ ।

सम्बन्धित समाचार