अपाङ्गता भएका २४ जनाले पाए ह्विलचियर
ह्विलचियर बिग्रेका कारण झापा हल्दिवारीका १७ वर्षीय अमित महतोलाई विद्यालय जान समस्या भइरहेको थियो । जन्मजात अपाङ्गता भएका महतो घरबाट करिब एक किलोमिटर ह्विलचियरको सहयोगबाटै विद्यालय जाने गरेका छन् । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँको सहयोगमा रोटरी क्लब अफ बिर्तामोडले निःशुल्क ह्विलचियर वितरण गरेपछि अमित हर्षित देखिए । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँ र रोटरी क्लब अफ बिर्तामोडबीच भगिनी सम्बन्ध रहेको छ ।
अमित घरबाट आफै ह्विलचियर लिन हल्दिवारी गाउँपालिका कार्यालयसम्म आफै आइपुगे । ह्विलचियर पाएपछि खुशी हुँदै अमितले भने ,‘ ह्विलचियर बिग्रेपछि समस्या थियो अब रहेन ।’ भविष्यमा आइटी पढेर कम्प्युटरसम्बन्धी काम गर्ने उनले सोच बनाएका छन् । अमितजस्तै समस्या भएका हल्दिवारी गाउँपालिकाका ६ जनाले निःशुल्क ह्विलचियर पाएका छन् । ह्विलचियर पाउने अन्यमा नेत्रबहादुर राउत , विजय मुर्मू , रोमन नेम्बाङ र धूमबहादुर फुयाँल र राजु तामाङ रहेका छन् । आफ्ना छोराले ह्विलचियर पाएपछि अमितकी आमा समरी महतोले पनि खुशी व्यक्त गरिन् । अमित उनका एक मात्र छोरा हुन् । सँगै पढ्ने अमितकी बहिनीले ह्विलचियरमा विद्यालय ल्याउन पुर्याउन सहयोग गर्ने गरेको आमा समरीले बताइन् ।
आफ्ना पालिकाका ६ जनाले ह्विलचियर पाएपछि हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले आयोजक संस्थालाई धन्यवाद दिए । उनले राज्य एक्लैले सबै काम गर्न नसक्ने भन्दै रोटरी क्लबसँगको साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन( महेन्द्र) ले रोटरी क्लबले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा सहकार्य रहने जनाए । हल्दिवारीमा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या ४३५ रहेको छ । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रोटरी क्लब अफ डिल्लीबजारका भाइस प्रेसिडेन्ट युवराज रोक्काले यस वर्ष आफूहरूको संस्थाले ३३० थान ह्विलचियर वितरण गरेको जानकारी दिए । त्यसमध्ये २४ वटा झापामा वितरण गरिएको छ ।
हल्दिवारी गाउँपालिकामा ६ , झापा गाउँपालिकामा १३ र कनकाई नगरपालिकामा ५ वटा ह्विलचियर वितरण गरिएको उनले बताए । अर्को वर्ष एक हजार वटा ह्विलचियर वितरण गर्ने योजना रहेको उनले सुनाए । भाइस प्रेसिडेन्ट पार्वता खरेल विमलीले संयोजन गरेको सो कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे , सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश बंशल , रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष प्रेम ओली , रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्षहरू , हल्दिवारी १ का वडाध्यक्ष देवीबहादुर थापा , २ का वडाध्यक्ष शुकलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै झापा गाउँपालिकाका १३ जनाले ह्विलचियर पाएका छन् । टीका मर्डी , फिरोज मिया , आसीन कोच , पार्वती गणेश , मोहम्मद सैफुल शेख , विद्यासिंह बस्नेत , आम्बरा खातुन , अप्सना खातुन , तस्लिम मुद्धिन , अभय गणेश , कविरजंग राजवंशी , खुशेदा खातुन र सोमलाल हस्दाले ह्विलचियर पाएका हुन् । झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे , सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश बंशल , उपाध्यक्ष पार्वता खरेल बिमली , रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष प्रेम ओली, उपाध्यक्ष युवराज रोक्कालगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संयोजन शैलेन्द्र कुरुम्वाङले गरेका थिए ।
त्यस्तै रोटरी क्लब अफ डिल्लीबजारको सहयोगमा रोटरी क्लब अफ सुरुङ्गाले पाँच जनालाई ह्विलचियर वितरण गरेको छ । विनिता दर्जी परियार , देवेन्द्र बस्नेत, रोशन दाहाल , सनिल न्यौपाने र सिलादेवी भट्टराईलाई ह्विलचियर वितरण गरिएको हो । यसैबीच रोटरी क्लब अफ डिल्लीबजार र रोटरी क्लब अफ बिर्तामोडद्वारा झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा बालमैत्री कक्षाका लागि सहयोग गरिएको छ । त्यस विद्यालयमा कार्पेट , भित्ते चित्र , फाइवरको पाँचवटा राउन्ड टेबल सहयोग गरिएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले जानकारी दिएका छन् ।