रातको १० बजेपछि ‘डीजे’ बजाउन प्रतिबन्ध
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक-सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डीजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहन गर्नका लागि आह्वान गरेको हो। ‘साँस्कृतिक कार्यक्रमहरूमा गरिने आतसबाजी र पटाकाको प्रयोगलाई पूर्णरूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ’, उनले भने, ‘यो निर्णयविरुद्ध कार्य गर्नेरगराउनेलाई कानूनको दायरामा ल्याइनेछ। सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिनेछ।’
बैठकले होटल, क्याटरिङ र पार्टी प्यालेसमा प्रयोग गरिने डिजेलगायतका उपकरणको प्रयोगलाई रातको १० बजेपश्चात् पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ।
प्रशासनले विवाह, व्रतबन्ध तथा धार्मिक-साFस्कृतिक कार्यक्रमको बुकिङ गर्दा सम्बन्धित होटलरपार्टी प्यालेसले आयोजकसँग डिजे, पटाकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाई सो बेहोराको सहमतिपत्रमा हस्ताक्षर गराएर मात्र बुकिङ गर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिए।
साथै यो क्षेत्रका व्यवसायीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम नियमित रूपमा बुझाउने र सोको सूक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ।
जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले ऐन कानुनविपरीत पटाका तथा आतसबाजी गर्नेलाई विस्फोटक पदार्थ ऐनबमोजिम कारबाहीको दायरामा ल्याउने जानकारी दिए। ‘सुरक्षा निकायले पनि निरन्तर अनुगमन गरेर कानुनविपरीत कार्य गर्नेलाई कानूनी दायरामा ल्याउनेछौँ’, उनले भने।