एम्बुलेन्स चालक संघ झापाले खरिद गरेको शव वाहन बिएण्डसीमा थन्काइयो
झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल परिसरभित्र वर्षौँदेखि एउटा शव वाहन थन्किएको छ । एम्बुलेन्स चालक संघ झापाले खरिद गरेको शव वाहन मर्मत खर्च अभावले थन्किएको बुझिएको छ ।
भन्सार छुटमा खरिद गरिएको मे १ च ४४६४ नम्बरको शव वाहन मर्मत खर्च अभावले सञ्चालनमा ल्याउन नसकेको एम्बुलेन्स चालक संघ झापाका अध्यक्ष विकास खड्का ‘चेतन’ ले जानकारी दिए । अध्यक्ष खड्काका अनुसार चालक सङ्घसँग मर्मत गर्ने रकम नभएकाले नै सञ्चालनमा ल्याउन नसकेको हो । उनले गाडी पुरानो पनि भइसकेको र नवीकरण समेत नभएकाले थन्काएको जानकारी दिए ।
अध्यक्ष खड्काले मर्मतका लागि अढाई लाख खर्च हुने बताएका छन् । उनले संघभित्र शव वाहन सञ्चालनका लागि विगतमा धेरै छलफल भए पनि अहिले छलफल हुन छोडेको प्रतिक्रिया दिए । माइपश्चिम र पूर्व चालकहरू विभाजित रहेकाले पनि उक्त सवारी साधन सञ्चालनमा आउन नसकेको बुझिएको छ ।
मर्मतका लागि अरू कसैले ध्यान नदिएपछि अध्यक्ष खड्काले अब अन्तिम विकल्प खोज्न थालेको बताएका छन् । उनले गाडी कटाउने कि चलाउने भन्नेमा अन्तिम निर्णय लिने बताएका छन् । संघभित्र बजेट नभएका कारण नै सञ्चालन गर्न नसकेको उनको धारणा छ ।
दुई वर्षदेखि बिएण्डसीको परिसरमा राखेको शव वाहनमा सयौँ एम्बुलेन्स चालकको आँखा पर्ने गरेको छ । आफ्नै संघले खरिद गरेको सवारी सञ्चालनमा संघले चासो देखाउनु पर्ने कतिपय चालकहरूको धारणा छ ।
संघको निष्क्रियताका कारण पनि शव वाहनलाई सञ्चालन गर्न नसकेको कतिपय चालकहरूको आरोप लगाएका छन् । देउसीभैली र सहयोग संकलन गरेर खरिद गरिएको शव वाहनको आम्दानी खर्च समेत संघभित्र पारदर्शी नभएको बुझिएको छ । १० वर्षअघि जयविन्द सिंह अध्यक्ष भएको समयमा शव वाहन खरिद गरिएको थियो । उक्त साधन मर्मत गर्न त्यसपछि दुई जना अध्यक्षले नेतृत्व गरिसक्दा पनि सम्भव हुन सकेको छैन ।
झापाका अधिकांश एम्बुलेन्स चालकहरूले दुख गरेर जोडेको सवारी सञ्चालन हुनुपर्ने माग अघि सारेका छन् । एक जना चालक चन्द्र राई भन्छन् – शव वाहन सञ्चालन गर्न पाए हुन्थ्यो । दुख गरेर खरिद गरेको सवारीलाई थन्क्याउँदा राम्रो लागिरहेको छैन ।