भद्रपुरका ७५ जनालाई कृषि सामग्री र २८ जनालाई च्याफ कटर मेशिन वितरण
भद्रपुर । भद्रपुर नगरपालिकाले कृषि सामग्री तथा च्याफ कटर मेसिन वितरण गरेको छ । कृषि विकास तथा पशु सेवा शाखाले मंगलबार एक संक्षिप्त कार्यक्रम गरी नगर क्षेत्रका कृषकलाई कृषि सामग्री तथा च्याफ कटर मेशिन वितरण गरेको हो ।
कृषि शाखाले सहरी क्षेत्र लक्षित करेशाबारी प्रवर्द्धन कार्यक्रम अन्तरगत ७५ जना कृषकलाई कृषि सामग्री दिएको हो ।
भद्रपुर वडा नम्बर ५, ६, ७, ८ र १० बाट छनौटमा परेका कृषकहरूलाई ९ प्रकारको सामग्री दिएको कृषि शाखा प्रमुख हेमराज पन्तले जानकारी दिए । त्यसमा स्प्रे टयांकी, नर्सरी ट्रे, सिकेच, जैविक मल, सूक्ष्म प्रभावकारी जीवाणु (इम), सानो स्पिङकल फिरफिरे, ड्रम, हजारी र गार्डेन टुल सेट सामग्री रहेको छ ।
फागुन अन्तिममा दुई दिने करेशाबारी तालिम दिएको र कृषकहरूकै माग बमोजिम सो सामग्री प्रदान गरिएको उनले बताए । त्यस्तै पशु सेवा शाखाले करिब १० लाख मुल्य बराबरको च्याफ कटर मेशिन वितरण गरेको छ ।
५० प्रतिशत अनुदानमा २८ जना पशु कृषकलाई च्याफ कटर मेशिन दिएको शाखा प्रमुख रोहितकुमार कार्कीले जानकारी दिए । गाई, भैँसी, भेडा, बाख्रा लगायत जनावरलाई दिइने खानेकुरा काटेर दिनुपर्छ । यसले पशुलाई स्वास्थ्य राख्नुका साथै उत्पादन पनि बढाउँछ । त्यही भएर यहाँका कृषकहरूलाई च्याफ कटर दिएको उनको भनाई छ ।
आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटालको अध्यक्षता भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले नगरभित्रको शहर केन्द्रित (कट्ठामा जमिन) भई घर आँगनमा करेशाबारी (तरकारी) खेती गर्दै आइरहेका कृषकहरूलाई लक्षित गरी यो कार्यक्रम नगरपालिकाले अघि बढाएको बताए ।
नगरपालिकाले दिएको तालिम र सामग्रीको सदुपयोग गरी कृषकले आफूले उत्पादन गरेको तरकारी आफ्नै घरलाई पुग्ने गरी अर्ग्यानिक उत्पादनमा लाग्नु पर्ने उनले जोड दिए ।
त्यस्तै उपप्रमुख राधा कार्कीले अहिले बजारमा बिषादियुक्त तरकारी खरिद गरी खानु परेको अवस्थामा करेशाबारी प्रवर्द्धन कार्यक्रमले यहाँका कृषक र तिनका परिवारको स्वास्थ्यमा फाइदा पुग्ने बताइन् । नगरपालिकाले कृषकलाई प्रोत्साहन दिन यस्ता कार्यक्रम ल्याइरहेको बताउँदै उनले भनिन्, ‘जनप्रतिनिधि र कर्मचारीले सहयोग गर्ने हो, त्यसको सही सदुपयोग कृषकले गरी उत्पादन बढाउनुपर्छ ।’
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गाना, ६ नम्बर वडाध्यक्ष रतिया राजवंशी, १० नम्बरका काव वडाध्यक्ष तुलसी पोखरेल, सामाजिक विकास समिति संयोजक सीतादेवी ढकाल लगायतको उपस्थिति रहेको कृषि शाखाका कर्मचारी सुमन बिमलीले जानकारी दिए ।