बिर्तामोडका कृषकलाई ४५ वटा बाख्रा वितरण
बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा रहेको सिताराम मन्दिर टोल कृषक समूहलाई बाख्रा वितरण गरेको छ । मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत आज १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरेको हो । प्रतिकृषक ३ वटाका दरले बिमा गरिएका बाख्रा वितरण गरिएको हो । उक्त समूहलाई एउटा उन्नत जातको बिउँ बोकासमेत वितरण गरिएको छ ।
बाख्रा साटासाट कार्यक्रम बिर्तामोडमा २०७४ सालदेखि सञ्चालनमा छ । बिर्तामोडमा १८ वटा बाख्रा कृषक समूह छन् । कार्यक्रम सुरु भएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपन्छी तथा मत्स्य विकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए ।
कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईँले थोरै भएपनि आय स्रोतको लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी रहेको बताइन । यो कार्यक्रमले जीवनस्तर उकास्न सघाउ पुर्याउने उनको भनाई छ ।
आर्थिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य सङ्गीता सिवाको अध्यक्षतामा सिताराम मन्दिर टोलमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य सिता ढुङ्गाना विक, शाखा अधिकृत सावित्री दाहाललगायतको उपस्थिति रहेको थियो ।