२०८२ कार्तिक ३० गते , आईतबार

झापामा सशस्त्रको 'एपीएसफ स्कूल' बन्दै

sajilo news
झापा
२०८२ जेष्ठ ३ गते , शनिबार
झापामा सशस्त्रको 'एपीएसफ स्कूल' बन्दै

कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्देश्यले झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा एपीएफ स्कुल स्थापना हुने भएको छ ।

कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय, झापाको भोगाधिकार रहेको जमिनमा एपीएफ स्कुलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिलान्यास गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रबाट सो स्कुल सञ्चालन हुने भएको छ । देशको सबै प्रदेशहरूमा स्थापना गर्ने उद्देश्यअनुरूप हाल ४ ठाउँमा स्थापना भइसकेको छ । त्यस क्रममा कोशी प्रदेशअन्तर्गत पाडाजुँगीमा स्थापना गर्न लागिएको हो

मुनाफारहित शैक्षिक संस्थाको रुपमा स्थापना भएको यस स्कुलको मूल उद्देश्य बहालवाला, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त, अशक्त, अवकाश प्राप्त सशस्त्र प्रहरीका सन्ततिहरूलाई शिक्षा दिने रहेको छ । साथै अन्य सर्वसाधारणका सन्ततिहरू समेतलाई समयसापेक्ष आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गरिने छ । हाल प्रारम्भिक चरणमा सबै झापा जिल्लाका स्थानीय पालिकाहरू, प्रदेश सरकार लगायत अरू सरोकारवाला निकायसँग छलफल, सहकार्य, समन्वय भएको छ । कमल गाउँपालिकाको सहयोगमा स्कुलको डीपीआर तयार भएको छ । साथै विद्यमान शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुरूप स्कुल स्थापना तथा सञ्चालनको स्वीकृतिको लागि स्कुल सञ्चालनको विनियमसहित कमल गाउँपालिकाको कार्यालयमा निवेदन पेश भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षबाट यस स्कुलले कक्षा ४ र ५ बाट आवासीय विद्यालयको रुपमा सञ्चालनमा ल्याउने भएको छ । साथै भौतिक पूर्वाधारहरू निर्माण गरी आवश्यकता अनुसार थप्दै जाने र कक्षा १२ सम्म सञ्चालनमा आउनेछ । ‘मानव उत्कृष्टताको लागि शिक्षा मानव स्वस्थताका लागि खेलकुद’ नारा बोकेर स्थापना हुन लागेको यस स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिई राष्ट्र निर्माणमा सुयोग्य, अनुशासित र उत्पादनशील नागरिक तयार गरी कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्देश्य लिएको पाथीभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार