२०८२ माघ ५ गते , सोमबार

आयल निगम चारआली डिपो प्रमुख सापकोटाको मनोमानी बढ्यो, बिनाकारण जागिरबाट निकाले पाँचजना कर्मचारी

sajilo news
पार्थ मण्डल
२०८२ जेष्ठ ५ गते , सोमबार
आयल निगम चारआली डिपो प्रमुख सापकोटाको मनोमानी बढ्यो, बिनाकारण जागिरबाट निकाले पाँचजना कर्मचारी

झापा । झापाको मेचीनगरस्थित नेपाल आयल निगम चारआली डिपो प्रमुख गीता सापकोटा (धिताल)ले करार र ज्यालादारीका पाँच जना कर्मचारीलाई एकैपटक जागिरबाट निकालिदिएका छन्। 

डिपो प्रमुख सापकोटाले आफूखुसी बिनाकारण जागिरबाट निकालिदिएपछि अहिले पीडित बनेका कर्मचारीहरू न्याय माग्दै सम्बन्धित निकाय धाइरहेका छन्। डिपो प्रमुख सापकोटाले आफूहरूमाथि ज्यादतीपूर्ण अन्याय गरेको भन्दै उनीहरूले नेपाल आयल निगमको केन्द्रीय तथा प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय झापा र श्रम तथा रोजगार कार्यालय झापामा न्यायका लागि हारगुहार गरिरहेका छन्। उनीहरूले प्रशासन तथा श्रम कार्यालयमा लिखित रूपमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म त्यसको सुनुवाइ भएको छैन। 

डिपो प्रमुख सापकोटाले केन्द्रीय कार्यालयको डाइरेक्टरहरूको आदेश हो भन्दै २०८१ पुस २९ गतदेखि अराजक शैलीमा डिपोमा कार्यरत ३ जना करार र ६ जना दैनिक ज्यालादारी गरी ९ जना कर्मचारीलाई एकै पटक जागिरबाट निकालेका थिइन्। 

९ जनामध्ये ज्यालादारीका सवारी चालक कुमारमणि दाहाल र करारका स्विपर रामकिशोर मल्लिकलाई २४ घण्टा नबित्दै काममा फर्काएका थिए। करारका मुना घिमिरे र करारका चन्द्रकला राईलाई डिपो प्रमुख सापकोटाले तीन सातापछि बोलाएर काममा लगाइन्। 

पाँच जना ज्यालादारीका कर्मचारीहरू अमोद भट्टराई, चन्द्रकान्तलाल दास, शान्ता पोखरेल, गोविन्द पाठक र अस्मिता विक भने चार महिनादेखि कामविहीन बनेका छन्। निकालिएका कर्मचारीहरू ३ देखि १५ वर्षसम्म डिपोमा कार्यरत थिए। तर, डिपो प्रमुख सापकोटाले केन्द्रीय कार्यालयको डाइरेक्टरहरूको आदेश हो भन्दै हामीहरूलाई जागिरबाट निकालिदिएको पीडित कर्मचारी अमोद भट्टराईले बताए।

कामबाट निकालेको भोलिपल्ट हामी गेटसम्म पुगेर फर्कियौँ। त्यहाँ पुग्दा दुई जनालाई काममा फर्काएको थाहा पाएयौं। त्यसपछि हामी पटक–पटक डिपो प्रमुख सापकोटालाई भेट्न कार्यालय पुग्यौँ। ‘हामी बालबच्चा भएको व्यक्तिलाई कामबाट निकाल्दिनुभयो, अब कसरी परिवार पाल्नु भन्दै भेटेरै उहाँसँग हारगुहार गर्दासमेत हाम्रो कुराको चार महिना बित्दा पनि सुनुवाइ भएन,’ पीडित कर्मचारी भट्टराईले भने। 

करारमा नियुक्ति गरिएकोमा दुई वर्षअघि नै ज्यालादारीमा झारेर अहिले कामबाट निकालिदिएको उनको गुनासो छ। कामबाट निकालेपछि हामी पीडितहरूले जिएमदेखि डाइरेक्टर सरहरूसँग बुझ्दा उहाँहरूले कामबाट निकाल्न भनेर कुनै आदेश नदिनुभएको भन्दै अर्को पीडित कर्मचारी शान्ता पोखरेलले भनिन्, ‘६ वर्षदेखि काम गरिरहेका थियौँ, डिपो प्रमुखले बिनाकारण आफूखुसी कामबाट निकाल्दा हामीहरू अन्यायसँगै मारमा पर्‍यौ।’ 

देशभरि गरी करार र ज्यालादारीमा करिब ४ सय कर्मचारी निगममा कार्यरत छन्। कुनै ठाउँमा यसरी कर्मचारी निकालिएको छैन। ‘डिपो प्रमुखले हामीमाथि अन्याय गर्नुभयो,’ उनले थपिन्। श्रीमानसँग छुट्टिएर छोरीसँग बस्दै आएकी अस्मिता विकको जागिर खोसिएपछि उनी थप पीडामा छिन्। तीन वर्ष भयो निगममा जागिर खाएको। कार्यालय प्रमुखले अराएको सबै काम गर्थिम। तर, उहाँले हामीमाथि अन्याय गर्दै बिनाकारण जागिरबाट निकालिदिएपछि अहिले परिवार पाल्नै मुस्किल भइरहेको उनले बताइन्।
 
त्यस्तै अर्को पीडित गोविन्द पाठक चारआली डिपोमा काम गरेको ६ वर्ष भयो। ‘डिपो प्रमुखले किन र के कारणले जागिरबाट निकालेको थाहा नै पाइन,’ उनले भने, ‘घर पायक जागिर गुमेपछि चार महिनादेखि परिवार पाल्नै धौधौ भइरहेको छ।’ ‘सबैतिरबाट काममा फर्काइने आश्वासन मात्र पाइरहेका छौँ, तर अहिलेसम्म काममा बोलाएको चाहिँ छैन,’ उनले थपे। हामीले न्यायका लागि सम्बन्धित निकाय गुहारिरहेका छौं। न्याय नपाए शान्तिपूर्ण आन्दोलनदेखि तालाबन्दीसम्मका कार्यक्रममा उत्रिने बाध्य हुने उनको भनाई छ। 

यता घटनाको बारेमा बुझ्न खोज्दा डिपो प्रमुख गीता सापकोटाले बोक्ने अफिसियल नम्बरमा पटक पटक फोन गर्दा कल रिसिभ भएन। 

सम्बन्धित समाचार