२०८३ बैशाख ३ गते , विहीबार

जनशक्ति अभावले प्रादेशिक अस्पताल भद्रपुरको सेवा खस्किँदै, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

sajilo news
पार्थ मण्डल
२०८२ जेष्ठ १४ गते , बुधबार
जनशक्ति अभावले प्रादेशिक अस्पताल भद्रपुरको सेवा खस्किँदै, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

झापा । सङ्घीयता पश्चात् सङ्घीय सरकारबाट प्रदेश सरकारको मातहत ल्याएर खुम्चाइएको साबिक मेची अञ्चलकै सबैभन्दा ठूलो सरकार अस्पतालको सेवा सुविधा दिनप्रतिदिन खस्किँदै गइरहेको छ ।  साबिक मेची अस्पतालबाट प्रादेशिक अस्पताल भद्रपुर नामकरण गरिएको अस्पतालमा चिकित्सकसहितको आवश्यक जनशक्ति तथा अन्य भौतिक संरचनाको अभावले नाम अनुसारको स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ उत्पन्न भएको भन्दै अस्पताल प्रशासनले कोशी सरकार, भौतिक विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईको ध्यानाकर्षण गराएको छ । 
अस्पतालको निरीक्षण तथा अनुगमनमा आएका स्वास्थ्य मन्त्री राईलाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामबाबु खडकाले अस्पतालको वर्तमान अवस्था र भविष्यमा सुधार गर्नुपर्ने विषयवस्तुहरूको बारेमा जानकारी गराउँदै विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । 
तत्कालीन अञ्चलाधीश छिरिङ्ग लामाको पहलमा वि.सं. २०१५ सालमा १५ शय्याको अस्पताल स्थापना भई विभिन्न चरणमा स्तरोन्नति हुँदै हाल प्रादेशिक अस्पतालको रुपमा परिणत भई अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको व्यवस्थापन समेतमा हाल १२६ शय्या सञ्चालन भइरहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले बताए । 
२०७९ असोज ६ गतेबाट प्रादेशिक अस्पतालको रुपमा २०० बेडमा स्तरोन्नति भए पनि पुरानै ५० बेडको स्वीकृतमा १०३ जनाको कर्मचारी दरबन्दी रहेको छ । जसमा २१ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा ११ जना रिक्त छ । कुल दरबन्दी १०३ मा विभिन्न पदमा ५८ जना कर्मचारी रिक्त रहेको छ । ५० बेडको दरबन्दी स्वीकृत भए पनि हाल १२६ बेड सञ्चालन भइरहेको छ । हाल छात्रवृत्ति करार सेवामा कार्यरत ६ जना विशेषज्ञ चिकित्सक, ५ जना मेडिकल अधिकृत र सञ्चालन समितिबाट करार सेवामा १० जना मेडिकल अधिकृत नियुक्त गरी सेवा दिइरहेको अवस्था छ । 
छात्रवृत्ति करार सेवामा चिकित्सकको अवधि २ वर्ष हुने र उनीहरूको अवधि समाप्त भए पछि सो सेवा बन्द हुने स्थिति रहेको डा. खडकाको भनाई छ । 
समितिको आम्दानीले समिति तर्फका १२९ जना कर्मचारीको तलब तथा अन्य खर्च धान्न धौधौ परिरहेको बताउँदै डा. खडकाले भने,  ‘स्वास्थ्य बिमा कार्यक्रमको कारण दैनिक औसत ५०० जना बिरामी उपचारका लागि आउने र चिकित्सक कमी भई उपचारमा समस्या परिरहेको छ ।’
साबिकको अस्पताल भवन पुरानो भई जीर्ण बनेको छ । नयाँ भवन निर्माण भए पनि पर्याप्त छैन । सञ्चालनमा आएको नयाँ भवनमा तला थप गर्नुपर्ने देखिन्छ । जसको लागि प्रदेश सरकारमार्फत सङ्घीय मन्त्रालयमा पहल गर्नुपर्ने उनको भनाई छ ।  अस्पतालमा भवनसहित अन्य विभिन्न संरचनाहरू निर्माण गर्नुपर्ने अवस्था छ । फार्मेसी भवन (फार्मेसी काउन्टर तथा औषधी बिक्री कक्ष एउटै स्थानबाट सञ्चालन हुन सकिरहेको छैन । चार कोठे पोस्टमार्टम घर, चमेना गृह र चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मीहरूको लागि आवास गृह निर्माण गर्नुपर्ने उनले बताए । साथै स्वास्थ्य उपकरणहरूमा पाँच थान हेमोडायलासिस मेशिन, एउटा ब्लड कल्चर सिस्टम, एउटा अटोक्लेभ मेशिन, एउटा इको मेसिन र एउटा इन्डोस्कोपी मेसिन तत्काल आवश्यक देखिएको उनको भनाई छ । 
दरबन्दी अनुसारको सबै विशेषज्ञ चिकित्सक (प्याथोलोजिष्ट सेवा) नहुँदा पनि सेवामा कठिनाइ भइरहेको बताउँदै उनले भने, ‘अस्पताल आउने मुख्य सडक साँघुरो तथा जीर्ण भएको कारणले थप स्तरोन्नति गरी फराकिलो सडक निर्माण गर्नुपर्ने पनि आवश्यक छ ।’ 
यता अस्पतालको मागसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले प्रादेशिक अस्पतालका लागि प्रदेश सरकारको तर्फबाट गर्नु सकिने काम तत्काल पूरा गर्ने आश्वासन दिए । 
अस्पतालको अनुगमनमा पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, स्वास्थ्य सचिव राधिका थपलिया, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार