२०८३ बैशाख ३ गते , विहीबार

डाक्टरप्रति राखेको सकारात्मक सोच कारण कचनकवलकी पन्ताले पाइन ओमसाई अस्पतालमा नयाँ जीवन

sajilo news
पार्थ मण्डल
२०८२ जेष्ठ १४ गते , बुधबार
डाक्टरप्रति राखेको सकारात्मक सोच कारण कचनकवलकी पन्ताले पाइन ओमसाई अस्पतालमा नयाँ जीवन

झापा । शारीरिक अवस्था निक्कै कमजोर भएकी झापा कचनकवल गाउँपालिका–७ सिधागुरी निवासी ५५ वर्षीया पन्ता राजवंशीको पेटभित्र बटारिएको आन्द्राको सफल शल्यक्रिया गरिएको छ । 

दिशा पिसाब बन्द भई पेट सुन्निएको अवस्थामा गत जेठ ५ गते राजवंशीलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याइएको थियो ।  राजवंशीको शरीरमा पोषणको मात्रा निक्कै कम भएकोले बेहोस पारेर आन्द्राको शल्यक्रिया गर्ने अवस्था नरहेकोले ओमसाईका चिकित्सकले अन्यत्र लैजान सुझाव दिएका थिए । तर, उनका श्रीमान् कृष्ण राजवंशीले मानेनन् । 

‘डाक्टरले सुरुमै सुझाव दिनुभयो, तपाईँको श्रीमतीको अवस्था नाजुक छ, जे पनि हुन सक्छ, बरु घर वा अन्यत्र लैजानुहोस्,’ श्रीमान् कृष्णले भने, ‘मैले डाक्टरको कुरा मानिन्, मैले डाक्टरलाई भने अब जे हुन्छ यही अस्पतालमा हुन्छ, कुनै समस्या आइपरेमा त्यसको जिम्मेबारी म लिन्छु, श्रीमतीको शल्यक्रिया गरी बचाइदिनुहोस् ।’ 

यति भनेपछि डाक्टर तथा अस्पताल प्रशासनले पनि शल्यक्रिया गर्न तयार भयो  । अपरेशन थिएटरमा शल्यक्रिया सुरु गर्ने बेलामा पनि डाक्टरले बोलाएर फेरि त्यही कुरा दोहोरायो । 

‘यस्तो अवस्थामा अब कहाँ लानू श्रीमतीलाई, एउटा भगवान् मनमष्तिष्कमा छ, अर्को भगवान् तपाईँहरू हो, त्यसले उहाँको शल्यक्रिया गरिदिनुहोस भनेर हात जोडेर अनुरोध गरे,’ उनले भने । अन्तत श्रीमतीको शल्यक्रिया सफल भयो । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए । 

अस्पतालका कन्सल्टेन्ट सर्जन डा. शशि सिंहका अनुसार दिशा, पिसाब बन्द भई पेट सुन्निएको अवस्थामा बिरामी ल्याएर भर्ना गरिएको थियो ।  बिरामीको शरीरमा पोषणको मात्रा नै थिएन । यस्तो कमजोर बिरामी, त्यसमाथि उमेर पनि बढी भएकोले बेहोस पारेर शल्यक्रिया गर्नु नै हाम्रो लागि चुनौती थियो । ‘तर, बिरामीको आफन्तले कहीँ कदापि कुनै अप्रिय घटना घटे पनि कुनै समस्या आइपर्ने नदिने भएपछि बिरामीको शल्यक्रिया सफलतापूर्वक गर्न सक्यौँ,’ डा. सिंहले भने ।  

इन्फेक्सन भएर पेटभित्र आन्द्रा बटारिएर नली नै बन्द भएको थियो । जसले गर्दा बिरामीको दिशा, पिसा नै बन्द भयो । पेट चिरेर शल्यक्रिया गरी बटारिएको भाग खोलिदिएको र अहिले बिरामी डिस्चार्ज भएर घर फर्किसकेको उनको भनाई छ । 

‘शल्यक्रिया जटिल होइन, तर समाजमा डाक्टरप्रतिको नकारात्मक सोचका कारण हामीले यस्ता केस रेफर गरिदिन्छौ,’ उनले भने, ‘हामी सबैलाई बचाउनै खोज्छौँ, कुनै बेला अप्रिय घटना घट्न सक्छ, त्यस्तो बेलामा बिरामीका आफन्तले डाक्टरप्रति देखाउने व्यवहार सकारात्मक भए हामी कुनै पनि केस हतपती रेर्फर गर्दैनौँ ।

‘हामी बाध्य भएर केस रेर्फर गर्नुपर्ने हुन्छ, त्यो कुरा बिरामीका आफन्तजनहरूले बुझिदिनु पर्‍यो,’ उनले भने ।  बिरामीका छिमेकी कनक राजवंशीले रेफर गरिदिन लागेको बिरामीको पनि ओमसाईका डाक्टरले सफलतापूर्वक शल्यक्रिया गरी नयाँ जीवन दिएकोमा खुसी व्यक्त गरे । 

परिवारजनले बिरामीप्रति आस छाडिसकेको थियो । तर, हामीले डाक्टर तथा अस्पताल प्रशासनसँग आग्रह गरेर शल्यक्रिया गर्न लाग्यौँ, उनले भने ।  त्यस्तै अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार जटिल केसहरूमा बिरामीका आफन्त तथा छरछिमेकले डाक्टरप्रतिको सकारात्मक सोच तथा अस्पताल प्रशासनलाई सहयोग गरेको खण्डमा यस हस्पिटलमा हुने सबै उपचार सफल हुने बताए । 

सम्बन्धित समाचार