आईपीएलको फाइनलमा पुग्न पञ्जाब र बैंगलुरु आज भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफार्यसमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरू आमने–सामने हुँदैछन् दुबै टोली पहिलो पटक आईपीएल उपाधि जित्न फाईनलमा स्थान बनाउने लक्ष्यमा छन्। मुल्लापुरको महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल स्टेडियम पञ्जाबमा खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरू हुनेछ।
सन् २०१४ पछि पहिलो पटक प्लेअफमा पुगेको पञ्जाब तालिकाको शीर्षमा रहदै यहाँसम्म आइपुगेको हो। पछिल्ला केही सिजन नियमित प्लेअफ खेले पनि बैंगलुरूले २०१६ पछि पहिलो पटक शीर्ष–२ मा स्थान बनाएको हो।
आईपीएलमा दुई टोलीबीच खेलिएका ३५ खेल मध्य पञ्जाबले १८ र बैंगलुरूले १७ खेल जितेको छ। यस सिजन दुबै टिमले एक–एक खेल जितेका छन्। यसै मैदानमा बैंगलुरूले पछिल्लो खेलमा पञ्जाबलाई ७ विकेटले हराएको थियो।
साथै बैंगलुरू यस सिजिन अवे मैदानमा अपराजित छ। पञ्जाब मुख्य रूपमा घरेलु युवाहरूमा निर्भर देखिन्छ। उसका भारतीय अनक्याप्ड खेलाडीहरूले सानदार प्रदर्शन गरेका छन्। बैंगलुरूले यस पटक सुपरस्टारभन्दा टिम सन्तुलनमा विश्वास राखेको देखिन्छ।
पञ्जाबका कप्तान श्रेयस अय्यरले १४ म्याचमा ५ सय १४ रन बनाएका छन्। ओपनर जोडी प्रभसिमरन सिंह र प्रियांश आर्याले सिजनभर आक्रामक सुरूवात दिलाएका छन्। बलिङतर्फ अर्शदीप सिंहले १४ खेलमा १८ विकेट लिएका छन्।
बैंगलुरूका लागि विराट कोहली १३ खेलमा ६ सय २ रनसहित ८ अर्धशतक प्रहार गरेर उत्कृष्ट लयमा देखिएका छन्। जोश हेजलवुडले १० म्याचमा १८ विकेट लिँदै बलिङतर्फ शीर्ष स्थानमा छन्।
आज दुबै टिमलाई महत्वपूर्ण खेलाडीको अनुपस्थितिले केही समस्यामा पार्न सक्छ। पञ्जाबका मार्को यानसन वल्र्ड टेस्ट च्याम्पियनसिप तयारीका लागि यस अघिनै दक्षिण अफ्रिका फर्किसकेका छन्।
बैंगलुरूका टिम डेविड हृयामस्ट्रिङको चोटका कारण मैदान बाहिर रहने सम्भावना छ। पञ्जाबका युजवेन्द्र चहल र आरसीबीका जोश हेजलवुड चोट मुक्त भएका छन्। यी दुबै खेलाडीले आ–आफ्नो टिममा पुनरागमन गर्न सक्छन्।
यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ। पराजित हुने टोलीले दोस्रो क्वालिफासर्यमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको एलिमिनेटरको विजेतासँग खेल्ने छ। एलिमिनेटरको खेल भोलि हुनेछ।