लिच्चीको रुखबाट लडेर सुरजको टाउको भित्र पस्यो 'गेट बल', उपचार खर्चमा कटुवाल कल्याण कोष र ओमसाई हस्पिटलको सहयोग
भद्रपुर । भद्रपुरमा लिच्चीको रुखबाट लडेर टाउको गम्भीर चोट लागेर घाइते भएका ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ निसंखे निवासी ३२ वर्षीय सुरज कटुवाल सफल उपचार पश्चात् घर फर्किएका छन् ।
आर्थिक अवस्था कमजोर रहेको कटुवालको उपचार खर्चमा कटुवाल कल्याण कोष र ओमसाई पाथीभरा हस्पिटल भद्रपुरले आआफ्नो तर्फबाट सहयोग गरेका छन् । कटुवालको शल्यक्रियासहित औषधी उपचारमा ४ लाख ६५ हजार रुपैयाँ खर्च लागेको थियो ।
त्यसमध्ये कटुवाल कल्याण कोषले उनको उपचारमा एक लाख २४ हजार र ओमसाई पाथीभरा हस्पिटलले ५४ हजार रुपैयाँ छुट गरेको छ । उपचार लागेको बाँकी रकम ऋण तथा विभिन्न दाताहरूको सहयोगमा जुटाएको घाइते कटुवालका मामा श्याम कार्कीले जानकारी दिए । ओमसाई हस्पिटलमा भान्जाको उपचार खर्च एक लाख २४ हजार तिर्न बाकी थियो । ‘रकम बाँकी हुँदाहुँदै पनि हस्पिटलले भान्जालाई घर लैजान दियो,’ मामा कार्कीले भने ।
हस्पिटललाई तिर्नुपर्ने एक लाख २४ हजार कटुवाल कल्याण कोषले शनिवार आएर बुझाइदिएको कोषका झापाका अध्यक्ष रामबहादुर कटुवालले बताए । कोषका अध्यक्ष कटुवालसहित पदाधिकारीहरूले सो रकम बराबरको चेक हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेललाई बुझाएका हुन् ।
२०७५ साल जेठ १५ गते कटुवाल कल्याण कोषको स्थापना भएको हो । यस कोषको मुख्य उद्देश्य हुनेखानेबाट सदस्य बनी नहुनेलाई सहयोग गर्नु रहेको बताउँदै कोषका अध्यक्ष कटुवालले भने, ‘अहिलेसम्म दिनदुखी, असहाय अशक्त, फरक क्षमता भएका बन्धुहरू र गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्दै आइरहेको छ ।’ सोही बमोजिम घाइते सुरजको उपचार खर्चमा अपुग रकम कोषका सदस्यहरूले बेहोरिदिएको उनको भनाई छ । कोषले अहिलेसम्म स्वास्थ्य, शिक्षा, सामाजिक गरी विभिन्न क्षेत्रमा सानाठूला २६ वटा भन्दा धेरै सहयोग गरिसकेको कोषका कोषाध्यक्ष मानकुमार कटुवालले बताए ।
घटना विवरण अनुसार गत बैशाख ३१ गते भद्रपुर–८ क्याम्पस रोड निवासी कुमार गुरुङको घरमा रहेको लिच्चीको रुखमा चढेर लिच्ची टिप्ने क्रममा हाँगा भाँच्चिएर सुरज लडेका थिए । रुखबाट लड्ने क्रममा धाराको गेट बल नै उनको टाउँकोभित्र छिरेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि ओमसाई हस्पिटलमा भर्ना गरिएको थियो । ओमसाईका न्यूरोसर्जन डा। सुमन फुयलले सुरजको टाउको सफल शल्यक्रिया गरेका थिए । १७ दिनसम्म हस्पिटलमा बसेर औषधि उपचार गराउँदा ४ लाख ६५ हजार खर्च लागेको थियो ।
सुरुमा बिरामी लिएर हस्पिटल आउँदा सुरजका आफन्तजनसँग डिपोजिट गर्ने रकम पनि अभाव थियो । तर, हस्पिटल पक्षले रकम भन्दा पनि उनलाई बचाउन तिर ध्यान दिएको हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले बताए ।
उपचार पश्चात् रकम अभाव हुँदा पनि बिरामीलाई पछि तिर्ने सर्तमा घर जान दिएको बताउँदै प्रबन्ध निर्देशक पोखरेलले भने, ‘उनको उपचारमा हस्पिटल पक्षले पनि ५४ हजार रकम छुट गरिदियो ।’