भद्रपुर क्लस्टर निजी विद्यालयद्वारा सामुदायिक विद्यालयलाई स्कुल ब्याग वितरण
भद्रपुर । भद्रपुरका १२ वटा क्लस्टर निजी विद्यालयले शैक्षिक क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । यसै क्रममा क्लस्टर निजी विद्यालयले मंगलबार एक कार्यक्रमका बीच सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । भद्रपुर ७ स्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत ७८ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको प्रज्ञा एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए ।
असहाय तथा गरिब समुदायका विद्यार्थीहरू सामुदायिक विद्यालयमा पठनपाठन गरिरहेकोले उनीहरूको शिक्षामा सहयोग पुग्ने उद्देश्यले क्लस्टर निजी विद्यालयले स्कुल ब्याग वितरण गरेको उनले बताए । क्लस्टर निजी विद्यालयका तर्फबाट घनश्याम राईको अध्यक्षता तथा भद्रपुर नगर शिक्षा शाखा प्रमुख पवित्रा ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर ७ नम्बर वडा अध्यक्ष अभिषेक ढुङ्गाना, वडा सदस्य विभा पासवान, सरस्वती प्राविका प्रधानाध्यापक शारदा भट्टराई न्यौपाने, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी क्लस्टर निजी विद्यालयले नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा उत्प्रेरण मूलक कार्यक्रम अन्तरगत सक्षम विद्यार्थी आजका सशक्त नेतृत्व भोलिका विषय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा १२ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई प्रशिक्षकहरू दीपेन्द्र पौडेल र योगेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।