२०८२ माघ ५ गते , सोमबार

तेस्रो सुपरओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

sajilo news
झापा
२०८२ असार ३ गते , मंगलबार
तेस्रो सुपरओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि  तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो।  नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए। 

१ सय ५३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा उति नै रन बनायो र खेल बराबरीमा टुङ्गियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए।  

त्यसपछि सूपरओभर भयो।  सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो।  जबाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र बराबरी भयो।

अनि फेरि दोस्रो सूपरओभर भयो। दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो।  जबाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो।

अनि तेस्रो सूपरओभरमा नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनु अगावै २ विकेट गुमायो। अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो।

जबाफी ब्याटिङ गर्दै नेदरल्यान्ड्सले १ बलमै ६ रन बनायो र खेल जित्यो।  शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो।  नेपालले आज स्कटल्याण्डसँग दोस्रो खेल खेल्दैछ।

सम्बन्धित समाचार