ईशाको खुलासा : हार्दिक पाण्ड्यासँग डेटिङ सुरु हुनुअघि नै अन्त्य भयो
बलिउड अभिनेत्री ईशा गुप्ताले हालै दिएको एक अन्तर्वार्तामा क्रिकेटर हार्दिक पाण्ड्यासँगको सम्बन्धबारे एक महत्वपूर्ण खुलासा गरेकी छन्। अभिनेत्रीले हार्दिकसँग केही समय कुराकानी भएको र केहीपटक भेटघाट पनि भएको स्वीकार गरेकी छन्। तर उनीहरूको सम्बन्ध डेटिङ फेजसम्म पुग्नुअघि नै टुंगिएको बताएकी छन्।
सिद्धार्थ काननलाई दिएको अन्तर्वार्तामा ईशाले भनिन्, “हो, केही समय हामीले कुरा गर्यौं। म भन्छु, त्यो पूर्ण रूपमा डेटिङ थिएन, तर हो, हामी केही महिनासम्म सम्पर्कमा थियौं। त्यो फेज यस्तो थियो - सायद काम गर्छ, सायद गर्दैन।”ईशाका अनुसार उनीहरूबीच केही भेटघाट भए पनि सम्बन्ध अगाडि बढेन। उनले भनिन्, “हामी एक वा दुई पटक मात्र भेट्यौं। मलाई लाग्थ्यो कि सायद हामी एक जोडी बन्न सक्थ्यौं, तर त्यो हाम्रो भाग्यमा थिएन।”
ईशाले हार्दिकसँग कुरा बन्द हुनुको कारण पनि खुलाएकी छन्। “हामीले महसुस गर्यौं कि हामी एक–अर्काका लागि उपयुक्त छैनौं। सबैको आफ्नै टाइप हुन्छ। म लाइमलाइटभन्दा पनि परिवार र वास्तविक जीवन मन पराउँछु,” उनले भनिन्।
ईशा गुप्ताले स्पष्ट पारेकी छन् कि उनी हार्दिक पाण्ड्यासँगको सम्भावित सम्बन्धप्रति सकारात्मक थिइन्, तर समय र परिस्थितिले त्यो सम्भावनालाई वास्तविकता बन्न दिएन।