२०८३ बैशाख ३ गते , विहीबार
‘शोले’ झण्डै ५० वर्षपछि पुनः ठूलो पर्दामा देखिने
भारतीय सिनेमाको कालजयी क्लासिक चलचित्र ‘शोले’ झण्डै ५० वर्षपछि पुनः ठूलो पर्दामा देखिन लागेको छ। सन् १९७५ मा निर्देशक रमेश सिप्पीद्वारा निर्माण गरिएको यो चलचित्र अब इटलीको बोलोनी शहरमा आयोजना हुने ‘इल सिनेमा रित्रोवातो’ नामक प्रतिष्ठित फिल्म फेस्टिभलमा पुनः प्रदर्शन गरिने भएको हो।
विशेष प्रिमियर पियाज़्जा मत्जोरे नामक विशाल खुला थलोमा हुनेछ, जुन युरोपकै सबैभन्दा ठूलो स्क्रिनहरूमध्ये एक मानिन्छ। कार्यक्रमको मुख्य आकर्षण भनेको चलचित्रको ‘अनकट संस्करण’ हुनेछ, जसमा अघिल्लो पटक सेन्सरले काटेका दृश्यहरू र वास्तविक अन्त्य पनि समावेश गरिएको छ।
बीबीसी हिन्दीका अनुसार, चलचित्रप्रेमीका लागि यो क्षण इतिहासकै अविस्मरणीय अनुभव बन्नेछ। दर्शकहरूका लागि ‘शोले’ पुनः पर्दामा देखिनु मात्र होइन, पहिले नदेखिएको रूपमा देखिनु पनि विशेष अवसर मानिएको छ।