२०८२ कार्तिक ३० गते , आईतबार

कचनकवलमा प्राविधिक शिक्षालयको शिलान्यास

sajilo news
झापा
२०८२ असार १३ गते , शुक्रबार
कचनकवलमा प्राविधिक शिक्षालयको शिलान्यास

कचनकवल । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था भएकोले नेपालले निरङ्कुशता विरुद्ध लामो सङ्घर्षपछि हासिल गरेको यो व्यवस्थालाई बलियो नबनाई मुलुक र जनताको हित र समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।
शुक्रबार झापाको बनियानीमा कचनकवल प्राविधिक शिक्षालयको शिलान्यास गर्दै प्रमुख अतिथि सिटौलाले नयाँ व्यवस्थामा पुरानो सोचले काम गर्न नसक्ने दाबी गर्दै नयाँ चिन्तन र सोच अनिवार्य रहेको धारणा  राखे।

प्राविधिक  शिक्षाले दक्ष जनशक्ति उत्पादन गरी युवाहरूको कार्य क्षमता र आम्दानी समेत बढाउने  भएकोले स्वदेश  वा विदेश जहाँ रहे पनि यो अत्यन्त उपयोगी हुने बताए। पूर्व प्रदेशसभा सदस्य वसन्त बानियाँले मुलुकमा विकासको गतिलाई अघि बढाउन साझा अवधारणा र  सर्वपक्षीय सहकार्य महत्त्वपूर्ण हुने बताउँदै दिगो र सन्तुलित विकासका  परिणाममुखी कार्यहरू ढिलै भए पनि थालनी भइरहेको प्रति सन्तोष व्यक्त गरे ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले वर्तमान शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने थलो भएको आरोप लागिरहेको अवस्थामा  प्राविधिक शिक्षा रोजगारीमूलक विकल्प बन्न सक्ने विचार व्यक्त गर्दै यसले युवाहरूको विदेश पलायनलाई रोक्न मद्दत पुर्‍याउने बताए ।
कचनकवल प्राविधिक शिक्षालयका सहसंयोजक तथा पालिका उपाध्यक्ष नवराज भट्टराईले  समाजवादको यात्रामा प्राविधिक शिक्षा कोशेढुंगा साबित हुने धारणा राख्दै  यो प्राविधिक शिक्षालय यसभेकका लागि मात्रै नभई भोलिका दिनमा टाढा टाढा सम्मका लागि पनि  आत्मनिर्भरताको बाटो बन्ने बताए ।
५६७० वर्ग फीटमा ४ करोड ७९ लाख २१ हजार २८५ रुपैयाँ लागतमा बन्ने यो बहुवर्षे योजना २०८२ आषाढ २ गते  नेपाल सरकार सघन शहरी विकास  तथा भवन निर्माण कार्यालय   र खण्डपुर निर्माण सेवा बीच सम्झौता भई २०८४ ज्येष्ठ २० गते सम्पन्न हुने जानकारी गराइएको थियो । कार्यक्रममा शिक्षालयको जग्गादाताहरू रतनलाल राजवंशी, फडिन्द्र दाहाल र गायक सबिन लिम्बूलाई सम्मान गरिएको थियो। 

सम्बन्धित समाचार