२०८२ माघ ५ गते , सोमबार

एसईई : भद्रपुरमा एउटा विद्यालयको नतिजा शून्य, यस्तो छ अरु विद्यालयको नतिजा

sajilo news
पार्थ मण्डल
२०८२ असार १६ गते , सोमबार
एसईई : भद्रपुरमा एउटा विद्यालयको नतिजा शून्य, यस्तो छ अरु विद्यालयको नतिजा

भद्रपुर । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भद्रपुरका केही सामुदायिक तथा निजी विद्यालयको नतिजामा सुधार भएको पाइएको छ । तर, केही विद्यालयहरूको नतिजा सन्तोषजनक देखिएन । भद्रपुरमा ८ वटा सामुदायिक, एउटा धार्मिक र २० वटा निजी गरी २९ वटा विद्यालयका विद्यार्थीहरू एसईई परीक्षामा सामेल भएका थिए । नगरमा सामुदायिकबाट ४२४ विद्यार्थीमध्ये १७५ जना उतीर्ण भएका छन् ।

सामुदायिकतर्फ वीरेन्द्र माविको नतिजामा केही सुधार आएको छ । अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमबाट कक्षा सञ्चालन गरिरहेका वीरेन्द्रबाट १८५ जनामध्ये १०२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० सालको नतिजा हेर्दा १५९ जनामध्ये ८५ जना उत्तीर्ण भएका थिए । त्यस्तै भद्रपुर माविको नतिजामा पनि सुधार आएको छ । २०८० सालमा ६१ जनामध्ये एक जना उत्तीर्ण भएकोमा यस वर्ष ७९ जनामध्ये १९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

पुहाँतु ज्योति माविबाट अघिल्लो वर्ष ६९ जनामध्ये ७ जना उत्तीर्ण भएकोमा यस वर्ष ६५ जनामा १५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । हिमाली माविको नतिजा भने सुधार भएको पाइएन । अघिल्लो वर्ष ५८ जनामध्ये २६ जना उत्तीर्ण भएकोमा यस वर्ष ५५ जनामध्ये २२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।  

त्यस्तै चन्द्रभानु ज्योति माविमा अघिल्लो वर्ष ५४ जनामध्ये ४ जना उत्तीर्ण भएकोमा यस वर्ष ५२ जनामध्ये पनि ४ जना नै उत्तीर्ण भएका छन् ।  सगरमाथा माविमा अघिल्लो वर्ष ३९ जनामध्ये ३ जना उत्तीर्ण भएकोमा यस वर्ष ३४ जनामा ४ जना उत्तीर्ण भएका छन् । सरस्वती मावि अघिल्लो वर्ष १६ जनामध्ये २ जना उत्तीर्ण भएकोमा यस वर्षको नतिजामा भने सुधार ल्याएको छ । यस वर्ष २२ जनामध्ये ९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । अरनिको माविको शैक्षिकस्तर भने खस्किँदै गइरहेको छ । अघिल्लो वर्ष एक जना उत्तीर्ण भएकोमा यस वर्षको नतिजा भने शून्य आएको छ । अघिल्लो वर्ष १५ जनाले परीक्षा दिएकोमा यस वर्ष १२ जना विद्यार्थीले परीक्षा दिएका थिए । 

यस्तो छ निजी विद्यालयको अवस्था 

२०८० सालको एसईईको नजिता अनुसार भद्रपुरका तीन वटा निजी विद्यालयको नतिजा शून्य आएको थियो । २०८१ सालको नतिजा अनुसार कुनै पनि विद्यालयको नतिजा भने शून्य आएको छैन । यस वर्ष प्रज्ञा एकेडेमी र ग्यालिक्स स्कूलले उत्कृष्ट नतिजा ल्याएको छ । 

प्रज्ञा एकेडेमीबाट ९७ जनामध्ये ८८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रज्ञाकी मिनुकुमारी दास कर्णले ४ जिपिए ल्याएकीमा २१ जनाले ‘ए’ प्लस ल्याएका छन् । । अघिल्लो वर्ष ७२ जनामध्ये ३७ जना उत्तीर्ण भएका थिए । ग्यालिक्स स्कूलबाट २३ जनामध्ये २१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै शिशु निकेतन अङ्ग्रेजी माविको नतिजामा भने उल्लेखनीय सुधार आएको छ । अघिल्लो वर्ष ६६ जनामध्ये १३ जना उत्तीर्ण भएको यस वर्ष ५७ जनामध्ये ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा चार जना विद्यार्थीले ‘ए’ प्लस ल्याएका छन् । 

त्यसैगरी विभूति विद्या मन्दिरबाट ५४ जनामध्ये ४४ जना, आदर्श नमुनाबाट ११ जनामध्ये ६ जना, सेन्टकुजुरबाट १० जनामध्ये ८ जना, मोरान मेमोरियलबाट ३२ जनामध्ये १७ जना, ब्राईट स्टारबाट ११ जनामध्ये ८ जना, एमरेल्ड एकाडेमीबाट ६७ जनामध्ये ४७ जना, सिद्धार्थ शिशु सदनबाट ३७ जनामध्ये २० जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै मोर्डन स्कुलबाट १७ जनामध्ये ११ जना, इस्टपोइन्टबाट २३ जनामध्ये १७ जना, मुनाल एकाडेमीबाट ४४ जनामध्ये २८ जना, ज्ञान सरोवरबाट २६ जनामध्ये २२ जना, ग्रीनफिल्डबाट २६ जनामध्ये २० जना, होलिल्याण्डबाट ४९ जनामध्ये २८ जना, भानु स्मृतिबाट ५ जनामध्ये एक जना, मेरिगोल्डबाट २१ जनामध्ये १५ जना र हिमालयबाट १८ जनामध्ये ९ जना विद्यार्थी उत्तीर्ण भएको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ । 

 

सम्बन्धित समाचार