२०८२ कार्तिक ३० गते , आईतबार

एसईई : शिक्षा शाखाले वीरेन्द्र मावि चन्द्रगढीको नतिजाको विवरण गलत दिएपछि...

sajilo news
झापा
२०८२ असार १६ गते , सोमबार
एसईई : शिक्षा शाखाले वीरेन्द्र मावि चन्द्रगढीको नतिजाको विवरण गलत दिएपछि...

भद्रपुर । भद्रपुर शिक्षा, युवा तथा खेलकुद शाखाले एसईईको परीक्षाफलको गलत तथ्याङ्क दिँदा वीरेन्द्र मावि चन्द्रगढीको नतिजा नै फरक पर्न गएको छ ।  शाखाका कर्मचारी र विद्यालयका शिक्षकबीच परीक्षाफल लिने क्रममा त्रुटिपूर्ण नतिजा संकलन गर्दा एसईईको नतिजा नै फरक पर्न गएको हो ।

वीरेन्द्र माविबाट १०२ जना विद्यार्थी उत्तीर्ण गरेको तथ्याङ्क भने ठिक छ । तर, परीक्षामा सामेल विद्यार्थीको सङ्ख्या भने फरक पर्न गएको छ । वीरेन्द्रबाट १८५ जना विद्यार्थीले एसईई दिएका थिए । त्यसमध्ये एक जना ४ जीपीएसहित १०२ जना उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक खिलाराज कोइरालाले बताए । विद्यालयबाट ५५.१३ प्रतिशत विद्यार्थी ग्रेडेट भएको उनको भनाई छ । शिक्षा शाखाले १०४ जनामध्ये १०२ जना उत्तीर्ण भएको गलत विवरण टाइम्स अफ प्रदेशलाई उपलब्ध गराएका थिए ।

सोही बमोजिम समाचार सम्प्रेषण भएको थियो । यस बारेमा विद्यालयका प्रधानाध्यापक कोइराला समक्ष जिज्ञासा राख्दा उनले भने, 'मैले शिक्षा शाखालाई गलत विवरण टिपाएकै छैन, जे हो त्यही टिपाएको हो ।' यता शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गलत विवरणको बारेमा आफूलाई थाहा नभएको र यस बारेमा बुझ्ने बताए । वीरेन्द्र माविमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट पढाई हुन्छ । अंग्रेजी माध्यममा अध्ययनरत अधिकांश विद्यार्थीहरू बोडिङ्ग स्कुल बीचै छाडेर त्यहाँ पढ्न जाँदा अन्य सामुदायिक विद्यालयहरूको तुलनामा एसईईको नतिजा राम्रो आइरहेको शिक्षाविद्हरू बताउँछन् । 
 

नोट : टाइम्स अफ प्रदेशमा यस अघि सम्प्रेषण भएको समाचारप्रति क्षमायाचना गर्दछु । सम्पादक

सम्बन्धित समाचार