२०८२ माघ ५ गते , सोमबार

एसईईमा ग्यालेक्सी स्कूलको नतिजा भद्रपुर नगरकै उत्कृष्ट, यो वर्षदेखि कक्षा ११ पनि सञ्चालन गर्दै

sajilo news
झापा
२०८२ असार २० गते , शुक्रबार
एसईईमा ग्यालेक्सी स्कूलको नतिजा भद्रपुर नगरकै उत्कृष्ट, यो वर्षदेखि कक्षा ११ पनि सञ्चालन गर्दै

भद्रपुर । भद्रपुर नगरपालिका-९ प्रणामी टोलस्थित ग्यालेक्सी इङ्लिस स्कूलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भद्रपुर नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ग्यालेक्सीबाट एसईईमा सहभागी २३ जनामध्ये २१ जना अर्थात् ९२ प्रतिशत उत्तीर्ण भएकोमा यसै शैक्षिक सत्रबाट कक्षा ११ पनि सञ्चालन गर्न लागिएको हो । ग्यालेक्सीले कक्षा ११ मा कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषय सञ्चालन गर्न लागेको विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले जानकारी दिए । 

विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सो बारेमा जानकारी गराउँदै एसईईमा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको अवसरमा ग्रेडेड विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै एक वर्ष निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको जनाइएको छ । त्यस्तै कक्षा ५ को परीक्षामा ४० जना र कक्षा ८ को परीक्षामा २२ जनाले उत्कृष्ट नतिजा ल्याउँदै शतप्रतिशत उत्तीर्ण भएका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालकहरू सुनिल घिमिरे, देव गोयल, रौनक वंशलगायतले विद्यार्थीहरूलाई सम्मान गरेका थिए । विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए ।

२०६८ सालमा स्थापना भएको स्कुललाई विश्वव्यापी विद्यालयको मापदण्डमा अग्रसर गर्दै भद्रपुर-९ मा पर्याप्त क्षेत्रको व्यवस्थापन गरी, विद्यार्थी निहित फरक प्रतिभालाई अभ्यास गराउन फराकिला खेलमैदान, खेल प्रशिक्षक, नृत्य सङ्गीत कक्षा, बालमैत्री कक्षाकोठा र समयसापेक्ष प्रविधिको प्रयोगको साथ व्यवस्थापन गरी, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीप प्रदान गर्दै आइरहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।

पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीमा भौतिक रुपमा सुविधा सम्पन्न भवन र कक्षाकोठा रहेको उनको भनाई छ । साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ । प्रिपाइमेरीका लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था रहेको भाइस प्रिन्सिपल चम्लागाईंले बताए । बालमैत्री वातावरणमा पढाइ हुने विद्यालयले विद्यार्थीको सुविधाको लागि मेचीनगरका धाइजन, चारआली, ज्यामिरगढी र धुलाबारीसम्म बसको व्यवस्था गरेको छ । त्यस्तै, भद्रपुरका चन्द्रगढी र ज्ञानेचोकसम्म विद्यालयको बस जाने आउने गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले विद्यालयलाई थप शैक्षिक सफलताको शुभकामना दिँदै एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई बधाई सहित शैक्षिक सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार