२०८२ माघ ५ गते , सोमबार

झापामा कोरोना सङ्क्रमणका बिरामी १२ जना

sajilo news
झापा
२०८२ असार २० गते , शुक्रबार
झापामा कोरोना सङ्क्रमणका बिरामी १२ जना

नयाँ भेरिएन्ट फैलिएयता झापामा कोरोना सङ्क्रमणबाट १२ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ जना बिर्तामोडका रहेका छन् । हालसम्म ६ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिर्तामोडका ४ , मेचीनगर , कनकाई , शिवसताक्षी , भद्रपुर , बुद्धशान्ति , दोलखा र इलामका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । पहिलो पटक गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट फैलिएयता कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको हो । पछिल्लो समयमा नेपालमा कोरोनाको संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोनाका २४९ जनामा कोरोना संक्रमण देखा परेको छ। गएको एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैबीच झापामा यही असार २२ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । असार २२ देखि ३१ गतेसम्म जिल्लाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । उनले फाइजर खोप लगाइने जानकारी दिए ।

सम्बन्धित समाचार