इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतको ऐतिहासिक जित
इङल्याण्डविरुद्धको दोस्रो टेस्ट भारतले जितेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो टेस्टमा भारत ३३६ रनले विजयी भयो। भारतले दिइएको ६०८ रनको लक्ष्य पछाएको इङल्याण्ड दोस्रो इनिंगमा २७१ रन बनाएर अल आउट भयो।
यस अघि भारतले दोस्रो इनिंगमा ६ विकेट गुमाएर ४२७ रन बनाएपछि आफ्नो इनिंग घोषणा गर्दै इङल्याण्डलाई ६०८ रनको लक्ष्य दिएको थियो।
भारतले इङल्याण्डमाथि पहिलो इनिंगमा १८० रनको अग्रता बनाएको थियो। दोस्रो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले शानदार शतकीय पारी खेल्दै १६१ रन बनाएका थिए।
त्यस्तै रविन्द्र जडेजाले ६९ र ऋषव पन्तले ६५ रन बनाए। त्यस्तै के एल राहुलले ५५ रनको योगदान दिए। भारतले पहिलो इनिंगमा ५८७ रन बनाएको थियो भने इङल्याण्डले ४०७ रन बनाएको थियो।
पहिलो इनिंगमा २६९ र दोस्रो इनिंगमा १६१ रन बनाएका भारतका कप्तान गिल खेलको प्लेयर अफ द म्याच बने। बर्मिङ्घममा भारतको यो ऐतिहासिक जित हो। भारतले यहाँ पहिले कहिल्यै टेस्ट खेल जितेको थिएन। शुभमन गिलको नेतृत्वमा रहेको भारतीय टोलीले बर्मिङ्घमको एजबास्टन टेस्ट जितेर नयाँ रेकर्ड बनाएको छ।
एजबास्टनमा यस अघि भारतले आठ टेस्ट खेलेकोमा सात टेस्टमा हार बेहोरेको थियो भने एक टेस्ट ड्र भएको थियो। जितपछि ५ खेलको टेस्ट सिरिज १–१ ले बराबरी भएको छ । अब सिरिजको तेस्रो खेल आगामी विहिबारदेखि लर्ड्स क्रिकेट मैदानमा सुरु हुनेछ।