लागूऔषध कारोबारी समात्न झापा प्रहरीको 'स्टन्ड', किन ठोक्छन् पक्राउ परिसकेका व्यक्तिलाई गोली ?
झापा । पछिल्लो समयमा झापा प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न स्टन्ड गरिरहेको पाइएको छ । सजिलै पक्राउ परेका व्यक्तिलाई समातेर खुट्टामा ताकी ताकी गोली हानेर प्रहरी संगठनभित्र आफूले राम्रो काम गरेको भन्दै आफ्नो बढुवामा सहयोग पुर्याउने योजनाका साथ झापा प्रहरी लागि परेको घटना बाहिरिएको छ ।
झापा प्रहरीले मंगलबार दिउँसो भद्रपुरबाट दुईजना ब्राउन सुगर कारोबारीलाई गोली हानेर पक्राउ गरेको छ । झापा जिल्लाकै सदरमुकाम जस्तो संवेदनशील क्षेत्रमै प्रहरीले गोली हानेर पक्राउ गरेको घटना यो समाचार तयार पारुन्जेल सार्वजनिक गरेको छैन । सो बारेमा बुझ्न खोज्दा प्रहरीका जिल्ला प्रवक्ता तथा एपसीले समेत सूचना दिन चाहेनन् ।
प्रहरीले सूचना लुकाए पनि घटनामा नाम जोडिएका व्यक्ति र ब्राउन सुगरको मात्रा केही सञ्चारमाध्यमले सार्वजनिक गरिसकेको छ । ।घटना विवरण अनुसार जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाको आधारमा दुईजना कारोबारीलाई निगरानीमा राखेका थिए ।उनीहरुलाई समात्न प्रहरीले नै लागुऔषध सेवनकर्तालाई लाई सुराकी बनाएर पठाएका थिए । सादा पोसाकमा रहेका प्रहरी इन्स्पेक्टर विजय चौहानसहितको टोलीले उनीहरूलाई निगरानीमा राख्दै मंगलबार दिउँसो ५ बजेर २० मिनेटमा भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटलको मेन गेट अगाडीको चिया पसलबाट पक्राउ गरेका थिए ।
चिया खाइरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरी चिया पसलको पछाडि लगेर एक जनाको खुट्टामा प्रहरीले ताकेर गोली प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । ६ देखि ८ जना सिवल पोसाकका प्रहरीले घेराउ गरी उनीहरूलाई सजिलै पक्राउ गरिसकेको थियो । ‘प्रहरीले फेरि किन गोली हान्यो, घटना सुन्दा पनि अच्चम लाग्यो,’ एक प्रत्यक्षदर्शीले भने । प्रहरी गोली हानेर भारत किसनगञ्ज बस्ने ३५ वर्षीय मनिसुर आलम र कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसुरुद्दिन मियालाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन चाइनिज ठुलो तथा सानो पेस्तोलबाट ३/३ वटा गरी जम्मा ६ राउन्ड गोली चलाएको थियो । तीन वटा गोली भुईँमा, दुई वटा हवाई र एउटा मियाको दाहिने खुट्टाको पिँडुलामा प्रहार गरेको थियो ।
प्रहरीले आलमको साथबाट दुई वटा प्लास्टिकको पोकामा १०३ ग्राम ७० मिलिग्राम र मियाको साथबाट दुई वटा प्लास्टिकको पोकामा १०२ ग्राम १० मिलिग्राम गरी जम्मा २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । सामान्य घाइते भएका मियालाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचार पश्चात् प्रहरीले जिम्मा लिएर लगिसकेको छ । प्रहरीले भारतीय नागरिकमाथि मात्र गोली चलाएको देखिन्छ । यसअघि पनि प्रहरीले झापा र कनकाईमा गोली हानेर ब्राउन सुगरको कारोबारी गर्ने व्यक्तिलाई पक्राउ गरेको थियो ।
२०८१ बैशाख १८ गते सीमावर्ती झापा गाउँपालिका–३ कामाटोली बजारस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले साँझ ६ बजेको समयमा गोली हानेर लागु औषध कारोबारी झापा गाउँपालिका ४ खैरबारीका २५ वर्षीय सरिफुल आलमलाई पक्राउ गरेको थियो । प्रहरीले आलमको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा २ राउन्ड गोली हानेको थियो । प्रहरीले उनलाई पक्राउ गरी कोठाभित्र लगेर ताकेर खुट्टामा गोली हानेको थियो । प्रहरीले गोली हानेर गलत गर्यो भन्दै त्यस बेला त्यहाँका स्थानीयले प्रहरीलाई अवरोध गर्न समेत खोजेका थिए ।
त्यस्तै २०८१ माघ २३ गतेकनकाई नगरपालिका–४ स्थित कुमरखोदबाट सुरुङगातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भारतको डिगल बैङ्क थाना–५ बिहारका २८ वर्षका अन्जार आलम र सोही ठाउँका १९ वर्षका युसुब आलमलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । गोली चलाउँदा अन्जरको घुँडामुनि एक राउन्ड गोली लागेको छ । अन्जरको साथबाट ३० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर भएको थियो । उनीहरूलाई पक्राउ गरिसकेको अवस्थामा गोली चलाइएको थियो । तर, प्रहरीले घटनालाई मोड्न मोटरसाइकलले ठक्कर दिएर भाग्न खोजेपछि प्रहरीले चार राउन्ड गोली हानेको बताएको थियो । यता सशस्त्र प्रहरीले पनि पटक पटक सीमा नाकाबाट ठूलो परिमाणकाे ब्राउन सुगरसहित काराेबारी समाते पनि अहिले सम्म गाेली चलाउनु परेकाे घटना नै बाहिर आएको छैन ।