बुद्धशान्तिस्थित भागीरथा अस्पतालको तीन पटक उद्घाटन भएको खुलासा
तस्बिरहरूले नै प्रमाण दिन्छन् – झापा बुद्धशान्तिको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको तीन पटक उद्घाटन भएको छ । नेपाल रेडक्रस सोसाइटीको भवनबाट सेवा शुभारम्भ भएको सो अस्पतालको पहिलो पटक बुद्धशान्ति गाउँपालिकाका तत्कालीन अध्यक्ष रमेश भुजेल र उपाध्यक्ष मीरा भुर्तेलले उद्घाटन गरेका थिए । उनीहरूले ‘स्वास्थ्य बिमा कार्यक्रमसहितको बुद्धशान्ति अस्पताल’ नामक ब्यानर मा २०७७ जेठ २२ गते आइतबार उद्घाटन गरेका थिए । जसको आयोजक बुद्धशान्ति गाउँपालिका एवं बुद्धशान्ति अस्पताल व्यवस्थापन समिति रहेको थियो ।
दोस्रो पटक २०८१ असोज १० गते बिहीबार सोही अस्पतालको उद्घाटन गरिएको थियो । भागीरथा बुद्धशान्ति अस्पतालको नाममा जग्गादाताद्वय हरि न्यौपाने तथा कुलप्रसाद न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । आफूहरूकी दिवङ्गत आमा पूर्व प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा १५ कट्ठा जग्गा दान गरेका न्यौपाने दाजुभाइद्वारा उद्घाटन गराइएको थियो ।
सोही अस्पताल तेस्रो पटक आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुरुमा बुद्धशान्ति अस्पताल नामकरण गरिएकोमा गत वर्ष दाताहरूले उद्घाटन गर्ने बेलामा नाम परिवर्तन गरी भागिरथा बुद्धशान्ति अस्पताल राखिएको थियो । अहिले आएर भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल भएको छ ।
यसरी एउटै अस्पताल तीन पटक उद्घाटन भएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको छ । प्रदेश सांसद सविना कट्टेल बजगाईँले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेर लेखेकी छन् ,‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यूसहित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन भएको अहिलेसम्म तीन पटक भयो । अब फेरि पालो प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाको होला । गज्जब लाग्यो ।’
यसअघि गरिएका उद्घाटन विधिवत् नभएको बताइएको छ । गत वर्ष भागीरथा न्यौपानेका छोराहरूले उद्घाटन गर्दा विधिवत् रुपमा उक्त अस्पतालको नाम भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल भएको थिएन। गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पतालको नाम भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल अनुमोदन गरेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले अस्पतालको शिलालेख अनावरण गरेका छन् भने दोस्रो पटक भागीरथाका छोरा बुहारी कुलप्रसाद न्यौपाने र गङ्गादेवी न्यौपानेलाई ओलीले रिबन काट्न लगाएका छन् । अस्पताल उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले करोडौँ मूल्य बराबरको जमिन अस्पताललाई दान गरेपछि भागीरथा मात्र नभएर आफ्नै प्रस्तावमा अस्पतालको नाममा ‘भागीरथा न्यौपाने’ जोडिएको बताए।
२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शय्यामा सञ्चालित छ। अस्पतालले बिमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ। अस्पतालको स्तरोन्नति र पहिलो तला निर्माणका लागि गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले मागपत्र बुझाएका छन्।