भद्रपुरकी शिवानीलाई नगरपालिकाको आर्थिक सहयोग
भद्रपुर । भद्रपुर नगरपालिकाले भद्रपुर–५ निवासी शंकर ठाकुरकी १६ महिनाकी छोरी शिवानी ठाकुरलाई आर्थिक सहायता प्रदान गरेको छ । जन्मजात रूपमा टाउकोमा न्युरोसम्बन्धी समस्या देखिएकी शिवानीको उपचारका लागि नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत ५६ हजार ६०० बराबरको आर्थिक सहायता प्रदान गरेको हो।
भद्रपुर ५ नम्बर वडा कार्यालयमा सोमबार एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्कीले शिवानीको परिवारजनलाई सो रकम हस्तान्तरण गरेका थिए । शिवानीको उपचार खर्चमा लागेको रकम नगरपालिकाले सहयोग गरेको सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउतले जानकारी दिइन् ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले अपाङ्गता भएका बालबालिकाहरूको शीघ्र उपचार तथा सामाजिक पुनःस्थापनाका लागि नगरपालिकाले निरन्तर रुपमा साथ सहयोग गरिरहेको बताए। नगर उप–प्रमुख राधा कार्की, वडा नम्बर ५ सदस्य जेष्ठमल ठाकुर, वडा सदस्य नारायण राजवंशी, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत तथा करुणा फाउन्डेसन नेपालकी पालिका संयोजक अञ्जना लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कोशी सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको साझेदारी तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयाृग गर्दैै आइरहेको कर्मचारी नरेन्द्र प्रधानले जानकारी दिए ।