इंग्ल्यान्डले भारतलाई २२ रनले हरायो
इंग्ल्यान्डले भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गरेको छ। यससँगै इंग्ल्यान्डले ५ टेस्टको शृंखलामा २–१ को अग्रता बनाएको छ। १ सय ९३ रनको लक्ष्य पाएको भारत पाँचौं तथा अन्तिम दिन खेलको अन्तिम सत्रमा १ सय ७० रनमै अलआउट भयो।
अफ स्पिनर सोएब बसिरको बललाई भारतका अन्तिम ब्याटर मोहम्मद सिराजले रोक्न खोजे पनि बल भुईंमा टप्पा खाँदै स्पिन भएर स्टम्पमा लागेपछि इंग्ल्यान्डले नाटकीय विजय हात पारेको हो। भारतले १ सय ४७ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो। टोली जितका लागि ४६ रन टाढा रहेको अवस्थामा रवीन्द्र जडेजालाई साथ दिन सिराज क्रिजमा पुगेका थिए।
यी दुईले चिया समयसम्म सुरक्षित खेलेर भारतलाई विजयतर्फ लगेका थिए। तर सिराज बोल्ड भएपछि लर्डसमा केवल चौथो पटक टेस्ट जित्ने भारतको सपना अधुरै नै रह्यो।
जडेजा ६१ रनमा अविजित रहे। उनले १ सय ८१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। यस शृंखलामा यो उनको लगातार पाँचौं अर्धशतक हो। दुई लामो स्पेल बलिङ गरेका इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४८ रन खर्चेर ३ विकेट लिए। चोटका कारण चार वर्षभन्दा बढी समयपछि इंग्ल्यान्डका लागि पहिलो टेस्ट खेलिरहेका तीव्र गतिका बलर जोफ्रा आर्चरले ५५ रन खर्चेर ३ विकेट लिए।
इंग्ल्यान्डलाई यही मैदानमा सन् २०१९ को विश्वकप पनि दिलाएका स्टोक्सका लागि लर्डस पुनः भाग्यशाली बन्यो। पहिलो इनिङ्समा २ विकेट पनि लिएका प्लेयर अफ द म्याच स्टोक्सले दुवै इनिङ्समा क्रमशः ४४ र ३३ रन बनाएका थिए।
दुवै टोलीले पहिलो इनिङ्समा समान ३ सय ८७ रन बनाएको थियो । इंग्ल्यान्डले दोस्रो इनिङ्समा १ सय ९२ रनमात्र बनाउन सकेको थियो। तर, आइतबार खेलको अन्तिम बलमा आकाश दीप आउट भएपछि भारतले ५८–४ बाट दिनको खेल सुरु गरेको थियो। भारतले यो स्थितिलाई ७१ रनमा पुर्याएको थियो। यहींबाट भारतले ११ रन अन्तरमा ३ विकेट गुमाएपछि टोली ८२–७ को स्थितिमा पुग्यो। ऋषभ पन्त ९, ओपनर केएल राहुल ३९ र वासिङटन सुन्दर शून्यमै आउट भए।
इंग्ल्यान्डले लिड्सको पहिलो टेस्ट जितेर शृंखलामा अग्रता लिएको थियो। भारतले एजबास्टेन टेस्ट ३ सय ३६ रनले जितेर शृंखला बराबरीमा ल्याएको थियो। चौथो टेस्ट जुलाई २३ बाट म्यानचेस्टरमा सुरु हुनेछ।