बिर्तामोडबाट सप्लाई हुन्थ्यो देशका विभिन्न सहरमा लागूऔषध, कामदार पक्राउ, मुख्य कारोबारी फरार
प्रहरीसँगको साँठगाँठमा खरेलले चलाउँथ्यो यस्तो धन्दा
झापा । झापाको बिर्तामोडलाई मुख्य केन्द्रबिन्दु बनाएर देशका विभिन्न जिल्लामा प्रतिबन्धित औषधिजन्य लागूऔषधको कारोबार हुँदै आइरहेको एउटा घटना बाहिर आएको छ।
बिर्तामोड नगरपालिका–५ स्थित लोटस होटेल छेउमा विशेष सूचनाको आधारमा बिहीबार दिउँसो १ बजेको समयमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले मनकुमार सङ्ग्रौलाको घरमा छापा मारेर ठूलो मात्रामा औषधिजन्य लागूऔषध बरामद गरेसँगै सो घटना बाहिर आएको हो।
बिर्तामोड–५ निवासी ५० वर्षीय भानुभक्त खरेलले राजनीतिक शक्तिको आडमा सङ्ग्रौलाको घरमा कोठा भाडा लिई लामो समयदेखि औषधीजन्य लागूऔषधको कारोबार गर्दै आइरहेका थिए। स्थानीयले दिएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर सो कोठाबाट विभिन्न छ प्रकारका झन्डै सवा दुई लाख लागूऔषध ट्याब्लेटसहित एक कामदारलाई पक्राउ गरेको छ।
बरामद गरिएको औषधीजन्य लागूऔषधमध्ये ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार ८०० क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० एम्पुल, ट्रामाडोल एन्ड एसिटामिनोफेन चार हजार ५० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसिएल ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल आठ हजार ९०० ट्याब्लेट र टर्मिपलि किट्स सात हजार ६५० ट्याब्लेट रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
प्रहरीले अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको छ। सार्वजनिक गरेका घिमिरे सनलाईट फर्माका कामदार हुन्। उनलाई फर्माका सञ्चालक खरेलले मासिक १५ हजार रुपैयाँ दिएर काम राखेका हुन्। उनले खरेलकै आदेशमा सबै काम गर्दै आएको घटनास्थलमै प्रहरी समक्ष बयान दिएका थिए। तर, पत्रकार सम्मेलनमा मुख्य कारोबारी खरेलको नाम प्रहरीले खुलाउनै चाहेनन्। यतिसम्म की प्रहरीको प्रेस रिलिजमा पनि सो कुरा उल्लेख छैन।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले दुईवटा कोठाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको र ती कोठाहरूलाई सिल गरेर औषधि व्यवस्था विभागलाई जानकारी गराइसकेको बताए। बिर्तामोडका केही औषधि व्यवसायीहरूले नै औषधिजन्य लागूऔषध बिक्री गरिरहेको यस घटनाले देखाएको बताउँदै डीएसपी श्रेष्ठले भने, ‘यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।’
त्यस्तै प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले भने, ‘झापा अहिलेसम्मकै ठुलो मात्रामा औषधीजन्य लागुऔषध बरामद गरेका छौँ। बरामद गरिएको लागूऔषध लाखौँ मूल्य रुपैयाँ बराबरको हो। बरामद गरिएका लागूऔषधहरु काठमाडौँसहित विभिन्न शहरहरुमा सप्लाई हुने गरेको प्रारम्भिक अनुसन्धान देखाएको छ, यस बारेमा थप अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीसँगको साँठगाँठमा खरेलले चलाउँथ्यो यस्तो धन्दा
राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी रहेका मुख्य कारोबारी खरेलले बिर्तामोडकै धर्मकाँटा रोडमा सनलाईट फर्मा नामक पसलबाट औषधिको थोक बिक्री गर्दै आइरहेका छन्। खरेलले औषधिको थोक बिक्रेताको आवरणमा वर्षौबाट सेटिङ मिलाएर लागूऔषधजन्य औषधीको कारोबार गर्दै आइरहेको उनीनिकट स्रोतको दाबी छ। खरेलले थोक बिक्रीसँगै ग्रामीण र पहाडी क्षेत्रमा त्यस्ता औषधीजन्य लागूऔषध आपूर्ति गर्ने गरेको एक औषधी व्यवसायी बताउँछन्। उनले विगत एक दशकदेखि यस्तो अवैध धन्दा चलाउँदै आइरहेको उनको दाबी छ। करिब चार वर्ष अघि इलाका प्रहरी कार्यालय बिर्तामोडले सादा पोसाकमा परिचालन गरेका प्रहरीसँग पनि खरेलको राम्रो साँठगाँठ थियो।
स्रोत भन्छन्, ‘सादा पोसाकका प्रहरी बलबहादुर तामाङ (बले) सँगको साँठगाँठले बिर्तामोडमा लागूऔषध कारोबार झन् फस्टायो।’ प्रहरी तामाङले खरेलको घरैमा गएर रकम डिल गरी पैसा बुझेका थिए। ‘अरूलाई समेत मिलाउने भन्दै उनले पटक–पटक गरी एक करोड रुपैयाँ बुझेकोमा सुरुमा १० लाख बुझेर लगेका थिए,’ स्रोतको दाबी छ। जुन अडियो क्लिप सुरक्षित छ।
खरेलले बिर्तामोडका अन्य औषधि व्यवसायीलाई त्यही सादा पोसाकका प्रहरी तामाङ सहायतामा पक्राउ गरी जेलसम्म पुर्याएको घटनाहरू पनि अहिले बाहिर आउन थालिसकेको छ। खरेलबाट औषधजन्य लागूऔषधी खरिद गर्ने अन्य पसलका सञ्चालकहरूलाई प्रहरी तामाङले पक्राउ पर्नबाट जोगाउने काम समेत गर्दै आइरहेका थिए। प्रहरी तामाङलाई ६ महिनाअघि मात्र बिर्तामोडमा हटाएर अन्यत्र पठाइसकेको छ। खरेलका छोरा पनि लागुऔषध बेचबिखन गरेको आरोपमा पक्राउ परेका थिए। तर, प्रहरीले प्रयोगकर्ता भनी मुद्दा कमजोर बनाई छुट्टाएको स्रोतको दाबी छ।
लागूऔषध इलामको पशुपतिनगरबाट छिराउँथे
खरेलले औषधजन्य लागूऔषध इलामको पशुपतिनगर नाकाबाट भित्राउँदै आइरहेको गरेको खुलेको छ। पशुपतिनगरमा क्यारियरमार्फत भित्राउने त्यस्ता लागुऔषध बिर्तामोडको गोदामसम्म सजिलै आइपुग्थ्यो। इलाम र झापाका विभिन्न स्थानमा प्रहरी चेकपोइन्ट हुँदा समेत खरेलको लागूऔषध कसरी बिर्तामोडसम्म आइपुग्थ्यो। खरेल दिनमै १० कार्टुन ट्रामाडोल र अन्य मनोद्धिपक औषधि ल्याउँथे। सम्पर्कमा रहेका अन्य कारोबारीलाई खरेलले बाटोबाटै सप्लाई गर्ने र बाँकी रहेको गोदाममा ल्याएर थन्क्याउँथे।
सात वर्ष अगाडि पशुपतिनगर नाकाबाट भित्राइएको प्रतिबन्धित औषधिसहित दुईवटा पिकअप गाडी झापाको बुधबारेमा पक्राउ परेको थियो। तर, गाडी भएको क्यारियरलाई नयाँ पिकअप खरिद गरी घटनालाई सेटल गर्न खोजेका थिए। त्यतिबेला समेत खरेललाई मुद्दा नचलाई क्यारियरलाई मात्रै मुद्दा चलाइएकोले क्यारियर एक महिला हालसम्म फरार रहेको स्रोतको दाबी छ।