आदर्श म्यानेजमेन्टका नयाँ विद्यार्थीहरूलाई तीनदिने अभिमुखीकरण
बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै तीनदिने अभिमुखीकरण कार्यक्रम दुई चरण सम्पन्न गरेको छ।
भर्ना भएका नयाँ विद्यार्थीहरूलाई विद्यालयको वातावरण, नियम तथा अवसरहरूसँग परिचित गराउनुका साथै उनीहरूको सामाजिक, शैक्षिक र व्यवहारिक विकासमा टेवा पुर्याउन उद्देश्यले अभिमुखीकरण दिइएको थियो । अभिमुखीकरणको पहिलो दिन विद्यार्थीहरूबिच आपसी परिचय, समूह कार्य, व्यक्तिगत सौन्दर्य तथा आत्म हेरचाहसम्बन्धी गतिविधि, विद्यालय परिचय तथा मनोरञ्जनात्मक नाटक प्रस्तुत गरिएको थियो। उक्त दिन ५० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।
दोस्रो दिन विद्यार्थीहरूलाई बिर्तामोडस्थित पाँचतारे होटेल किङ्सबेरीमा लगेर त्यहाँको व्यवस्थापन, खानपान सेवा, किचन र रेस्टुरेन्ट प्रणालीको अवलोकन गराइएको थियो। तेस्रो दिन प्रकृतिसँगको सामीप्यता र अवलोकनको उद्देश्यसहित इलामस्थित स्वामी पार्क, गुगल पोइन्ट लगायत पर्यटकीय स्थलहरूको भ्रमण गराइएको थियो।
अभिमुखीकरण कार्यक्रममा प्रत्येक समूहमा ५० ५० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा कलेजका भर्ना प्रमुख तथा तालिम सहजकर्ता दीपक दास, विभिन्न विभाग प्रमुखहरू डेजिका कार्की, प्रवेश खनाल र अङ्किता पराजुलीले नयाँ विद्यार्थीहरूलाई मार्गदर्शन गरेका थिए। कार्यक्रमको समन्वय तथा नेतृत्व तालिम विभाग प्रमुख दीपक दासले गरेका थिए ।