भद्रपुरका केही संस्थागत विद्यालयले बुझाएनन् छात्रवृत्ति विवरण, साउन १५ सम्म नबुझाए कारबाही गर्ने नगरपालिकाको चेतावनी
भद्रपुर । भद्रपुर नगरपालिकाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति विवरण समयमै पेस गर्न आग्रह गरेको छ । तोकिएको समय अवधिभित्र छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयहरूलाई कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।
नगरपालिकामा २०८२ बैशाख ९ को संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकमा भएको निर्णयअनुसार शैक्षिक सत्र २०८२ मा भर्ना भएका विद्यार्थीहरूलाई नियमानुसार छात्रवृत्ति वितरण गरेको विवरण असार १५ गतेसम्म नगरको शिक्षा, युवा तथा खेलकुद शाखामा पेस गर्न भनिएकोमा हालसम्म केही विद्यालयले विवरण पेस नगरेको हुँदा साउन १५ गते सम्म अनिवार्य पेस गराउन भनी प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले हस्ताक्षरित सूचनामा उल्लेखमा गरिएको छ ।

उक्त तोकिएको म्यादभित्र विवरण पेस नगर्ने विद्यालयहरूलाई कानुन बमोजिम कारबाही हुने र विद्यालयका कागजात प्रमाणीकरण तथा सिफारिस बन्द गरिने समेत सूचनामा उल्लेख गरिएको छ । नगरभित्र ३१ वटा संस्थागत विद्यालय रहेकोमा केही विवरण बुझाउन अझै बाँकी रहेको शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए ।
.jpg)
सरकारको नीतिअनुसार संस्थागत विद्यालयले कूल विद्यार्थी सङ्ख्या अनुसार कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । विद्यालयले छात्रवृत्ति दिँदा आर्थिक रूपमा कमजोर, दलित, जनजाति, अपाङ्गता भएका विद्यार्थी, एकल महिला वा श्रमिक परिवारका सन्तान, शैक्षिक रूपमा जेहेन्दार तर विपन्न विद्यार्थीलाई दिनुपर्ने हुन्छ ।
